२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

गोरखापत्र संस्थानका १७५ जना कर्मचारीको करार नविकरण नहुने

२६ असार, काठमाडौँ । गोरखापत्र संस्थानका विभिन्न शाखा, विभाग तथा कार्यालयमा कार्यरत १७५ जना कर्मचारीको करार सेवा नविकरण नहुने भएको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दिएको निर्देशन अनुसार अब गोरखापत्रले आवश्यक परेका कर्मचारी विज्ञापन मार्फत भर्ना गर्नेछ ।

योसँगै यसअघि विभिन्न राजनीतिक दलका नेताहरूको सिफारिसमा नियुक्त भएका सबैले एकै पटक करार सेवाको जागिर गुमाएका छन । बिहीबार मन्त्रीले निर्देशन दिएको दिननै गोरखापत्रको सञ्चालक समितिले २३ जना पत्रकार कर्मचारीका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । जसमा समाचारदाता १ जना, सहकाय समाचारदाता नेपालीमा १३ जना, सहायक समाचारदाता अंग्रेजीमा ८ जना र सहायक फोटोग्राफर १ जना रहेका छन । १७५ कर्मचारी विदा दिँदै गर्दा गोरखापत्रले २३ जनाका लागि मात्र विज्ञापन गरेको छ ।

हाल गोरखापत्र संस्थानका विभिन्न शाखा, विभाग तथा कार्यालयमा १७५ जना करार सेवाका कर्मचारी कार्यरत छन् । गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०८२ को विनियम ४० मा संस्थानमा कुनै पनि पदमा करार नियुक्ति नगरिने व्यवस्था गरिएको छ । तर कुनै निश्चित कार्यक्रम कार्यान्वयन वा उत्पादन कार्यका लागि दरबन्दी नभएको, आवश्यक योग्यता पुगेको व्यक्ति उपलब्ध नभएको वा खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिको प्रक्रिया सम्पन्न नभएसम्म रिक्त दरबन्दीमा एक पटकमा बढीमा छ महिनासम्मका लागि करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । साथै, करार नियुक्ति गर्दा अनिवार्य रूपमा प्रतिस्पर्धा गराएर मात्र नियुक्त गर्नुपर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ । तर विगतका वर्षहरूमा यस व्यवस्थाविपरीत कर्मचारी नियुक्ति हुँदै आएको पाइएको छ ।

प्रकाशित मिति : July 10, 2026 at 8:24 am