हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री तिमिल्सिना
१६ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन् ।
उनले भने, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको छ ।”
हुलाक सेवा विभागद्वारा आज आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको छ र यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिए । उनले भने “ सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्व भने अझै कायम रहेको छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको छैन । बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ । ”
सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताए । सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, “हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढङ्गले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ । ”

राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उनले यसबाट नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको बताए । सुरक्षाका दृष्टिले समेत सरकारी हुलाक सेवा विश्वसनीय रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।
सरकार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायका काममा उल्लेख्य प्रगति भएको जानकारी दिए ।
प्रकाशित मिति : June 30, 2026 at 1:39 pm









