१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बुढानिलकण्ठ स्कुलभित्र बर्बाद भएको एउटी मेधावी छात्राको भविष्य र न्यायको याचना

१४ असार, काठमाडाैँ । देशकै अग्रणी र ‘नमुना विद्यालय’ को पहिचान बनाएको बुढानिलकण्ठ स्कुलभित्रको एउटा भयावह र कारुणिक वास्तविकता बाहिर आएको छ। यो घटना एउटी ९ वर्षिया अबोध बालिकाको हो, जसले अत्यन्तै उत्साहका साथ २०७९ सालको प्रवेश परीक्षामा दोस्रो स्थान हासिल गरी यस विद्यालयमा प्रवेश पाएकी थिइन् । आफ्नी छोरीको उज्ज्वल भविष्यको सपना देख्दै मध्यम वर्गीय परिवारले आफ्नो गाँस काटेर बुझाएको चर्को शुल्क र भरोसाको बदलामा आज ती बालिका अस्पतालको शय्यामा मृत्युतुल्य जीवन बिताउन बाध्य छिन् ।

विद्यालयका दुई शिक्षिकाहरू कविता बराल अधिकारी (KBA Ma’am) र प्रिया पौडेल (PP Ma’am) ले कक्षाकोठामा एक्लै पारी ती बालिकामाथि गरेको निरन्तरको शारीरिक र मानसिक दुर्व्यवहारले आज एउटा कलिलो मस्तिष्क विक्षिप्त बनेको छ । स्रोतका अनुसार, ती शिक्षिकाहरूले बालिकालाई लुछ्ने, पिट्ने, विभेदपूर्ण व्यवहार गर्ने र मानसिक रूपमा त्रसित बनाउने कार्य गरेका थिए । दुई वर्षसम्मको चरम यातनाका कारण २०८२ साल वैशाखदेखि ती बालिका अचानक अचेत हुने, स्मृति हराउने र कहिलेकाहीँ पुरै शरीर पक्षघात हुने जस्तो गम्भीर स्वास्थ्य समस्याबाट ग्रस्त छिन् ।

कान्ति बाल अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूले स्पष्ट रूपमा विद्यालयमा दिइएको शारीरिक दण्ड (Corporal Punishment) का कारण बालिकामा गहिरो मानसिक ‘ट्रमा’ परेको पुष्टि गरिसकेका छन् । तर विडम्बना, ‘नमुना विद्यालय’ को प्रशासनले दोषी शिक्षिकाहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिरहेको छ । पीडित परिवारले न्यायका लागि भौंतारिँदै प्रहरी वृत्त महाराजगंजमा किटानी जाहेरी दिँदा समेत सुरुमा प्रहरीले आलटाल गरेको र सरकारी वकिलको कार्यालयको दबाबपछि मात्र जाहेरी दर्ता भएको देखिन्छ ।

आज ती मेधावी छात्राको विद्यालय जाने र साथीभाइसँग खेल्ने अधिकार मात्र खोसिएको छैन, उनले सामान्य मानवीय जीवन समेत जीउन पाएकी छैनन् । शिक्षा मन्त्रालयका उच्च अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत यस गम्भीर विषयमा पन्छिन खोज्नुले राज्य संयन्त्र कति गैरजिम्मेवार छ भन्ने प्रष्ट पार्छ । एउटी अबोध बालिकाको भविष्य बर्बाद पार्नेहरू खुलेआम घुमिरहँदा पीडित परिवारभने सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्री गुहार्ने अवस्थामा पुगेका छन । यहाँ अभिभावकहरूको तर्फबाट उठ्ने एउटा जायज प्रश्न छ, के बुढानिलकण्ठ विद्यालयलाई नेपाल सरकारले स(साना नानी बाबुहरूको जीवनसँग खेलवाड गर्ने इजाजत पत्र दिएको हो रु यो पत्र एक परिवारको चित्कार मात्र नभएर, सुरक्षित विद्यालयको खोजीमा रहेका सम्पूर्ण अभिभावकहरूको साझा चिन्ता र न्यायको पुकार हो । छात्राको आमा सावित्रा घिमिरेले फेसबुक मार्फत सार्वजनिक गरेको पत्र हामीले  यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ ।

देशका सम्माननीय प्रधान मन्त्री/ शिक्षा मन्त्री/ कानुन मन्त्रीलाई एउटी पिडिताको प्रश्न !!!
कथित “नमुना विद्यालय”को विशेषता भनेको
के अपराधीहरूको संरक्षण गर्नु हो ???

“देशकै नमुना विद्यालय” भन्ने जस्ता भ्रामक खबरलाई पत्याएकै कारण राम्रो विद्यालय भन्ठानेर बुढानिलकण्ठ विद्यालयलाई २ वर्ष सम्म आफ्नो सम्पूर्ण बचत बुझाएर, आफ्नो “मुटुको टुक्रा” हामीले सुम्पिएका थियौं । “देशकै नमुना विद्यालय”को खोल ओढेको कारण सहजै जो कोही झुक्किन सक्ने “Brand Name” को झुक्याउने जालमा हामी पनि पर्यौं । छोरीको सुन्दर र सुरक्षित भविष्यको कामनामा आफ्नो नानीको सपनाको विद्यालय बुढानिलकण्ठमा पठन पाठन गराउन हामी तयार भयौं ।

“Valley View English School” मध्य बानेश्वरमा अध्ययनरत् ९ बर्षिय छोरीले कक्षा ४ को अन्तिम परिक्षा दिने बेला आफ्ना केही साथीहरू बुढानिलकण्ठ स्कूल जाने तयारी गरि रहेको र आफूलाई पनि जान मन भएको कुरा हामीसामु राखिन् । हामीले उनलाई सम्झाएर हाललाई त्यता नसोचौं भनेर बुझाउने प्रयास पनि गरेउँ तर अध्ययनलाई अत्यन्त गम्भिरताका साथ लिने उनले आफ्नो मन बनाई सकेकी थिइन । उक्त स्कूलको बाहिर फैलाइएको भ्रमपूर्ण प्रचारबाजीको प्रभावबाट उनि पनि अछुतो रहन सकिनन् । उक्त विद्यालयमा गएर अध्ययन् गर्न पाएमा उनको भविष्य नै सुरक्षित हुने तर्क छोरीले दिन थालिन् ।

उमेरले भर्खर ९ बर्षिय भएपनि उनको तर्कशक्ति एवम् प्रस्तुती यति बलियो थियो कि हामीले उनकालागि उक्त विद्यालयको फारम लिईदिन बाध्य भयौं । आफैले रोजेको र खोजेको बुढानिलकण्ठ विद्यालयको २०७९ सालको चैत्र २४ गते भएको Entrance Exam मा समेत उनले उत्कृष्ट नतिजा ल्याएर दोस्रो स्थान प्राप्त गरिन् । हाम्री ९ वर्षिय छोरी त्यो बेला अत्यन्त खुशी भएकी थिइन् । उनको खुशी हेरेर हामीले पनि जे जसरी भएपनि उनलाई उनको चाहनाको स्कूलमैं पढाउँ भन्नेमा मञ्जुर भयौं ।

मध्यम वर्गीय परिवारकालागि “बुढानिलकण्ठ विद्यालय”को भर्ना शुल्क एवम् मासिक शुल्कहरूको भार पक्कै सहज थिएन तर पनि छोरीको चाहना बुझेर हामीले हाम्रा रहर अनि सपनाहरू बिर्सी दियौं । किनकि छोरी नै हाम्रो प्राथमिकताको केन्द्र थिइन् ।छोरीलाई त्यो विद्यालयमा पढ्ने धोको थियो , तसर्थ छोरीको प्राथमिकताकालागि हामीले आफ्ना आवश्यकताहरूमा समेत कटौती गर्यौं र छोरीको उज्जवल भविष्य बनाउँदैछौं भन्ने भ्रममा उक्त विद्यालयमा उनलाई कक्षा ५ मा भर्ना गर्यौं ।

यसरी २०८० सालमा एउटा ठूलो धनराशी बुझाएर उक्त आवासिय विद्यालय प्रवेश गरेकी नाबालिका “३००२” (विद्यालयमा उनको चिनारी , उनको रोल नं.) हाल अस्पतालको शैयामा वा घरमा थुनुवा सरिको जीवन् बिताउन बाध्य छिन् । उक्त विद्यालय जानुपूर्व पूर्ण स्वस्थ्य एवम् सबल रहेकी बालिका २ वर्ष (०८० र ०८१ ) को उक्त आवासिय विद्यालयको बसाई पश्चात मानसिक रोगबाट ग्रस्त भएर अहिले पूर्ण रूपमा असक्त बन्न पुगेकी छन् ।

छात्र माथि यातना दिएको अभियोग लागेका शिक्षकद्धय कविता बराल अधिकारी (KBA Ma’am) र प्रिया पौडेल (PP Ma’am) ।

उक्त विद्यालयका २ जना शिक्षिका KBA Ma’am भनेर चिनिने (कबिता बराल अधिकारी) र PP Ma’am भनेर चिनिने (प्रिया पौडेल) ले गरेको शारिरिक एवम् मानसिक दुर्व्यवहार ( कक्षा कोठामा एक्लै पारी तर्साई तर्साई लूछ्ने/ पिट्ने/ गाली – गलोजका साथ चिच्याउने, फट्कार एवम् दूत्कार गर्ने, विभेदपूर्ण असमान व्यवहार गर्ने गरेका ) कारण मानसिक आघात पर्न गएकोले पिडिताको बाल मनस्थिति नै असन्तुलित बन्न पुगेको अवस्था छ ।

२ वर्षको समय सम्म उनले निरन्तर भोग्नु परेको शारिरिक एवम् मानसिक प्रताड्नाका कारण उनि यति सम्म ग्रस्त बन्न पुगिन कि २०८२ सालको बैशाख २९ गते देखि उनि अचेत भएर जता सुकै लड्न थालिन् । पटक पटक विद्यालय भित्र अचेत हुन थालेपछि अवस्था गम्भिर भएपछि विद्यालयले परिवारलाई खबर गर्यो । घर परिवारले देशकै राम्रा मानिएका सरकारी तथा निजी अस्पतालहरू ( नेश्नल न्युरो सेन्टर महारजगंज, न्युरो अस्पताल बाँसबारी, शिंक्षण अस्पताल महाराजगंज, मेधार्मा क्लिनिक्स दरबार मार्ग, अन्नपूर्ण न्युरो अस्पताल, कान्ति बाल अस्पताल, महाराजगंज ) एवम् वरिष्ठ चिकित्सकहरूलाई देखाएर तमाम् सल्लाह र सुझाव लिने काम गर्यो .., सम्पूर्ण परिक्षंण गराए पश्चात उनलाई कुनैपनि किसिमको शारिरिक रोग नभएको तर मानसिक रूपमा गहिरो ट्रमाको शिकार भएको कुरा खुल्यो ।

प्रशस्त सम्भावना बोकेकी १२ बर्षिय बालिका र उनको भविष्य नै संकटमा परेको छ । अवस्था जटिल छ, उनलाई लिएर कतै जान पनि परिवारलाई समस्या छ, किनकि उनि जुनसुकै बेला अचेत भएर लड्ने र तत्पश्चात उनको अवस्था अनियन्त्रित हुने गर्छ । कुनैबेला उनको पुरै शरिर नै Paralyzed भैदिन्छ त कुनैबेला उनको स्मृति नै हराएर उनि आफू र आफ्नो परिवारलाई समेत चिन्न सक्दिनन् ।

साथीसँगी बिच हाँस्दै खेल्दै पढ्ने र रमाउने उनको हक मात्रै खोसिएको छैन अपितु उनि एक अपराधी सरह थुनुवाको जीवन गुजार्न बाध्य छिन् । तर जसले उनलाई यो अवस्थामा पुर्याए उनिहरूको दैनिकिमा कहिं कतै कुनै फरक परेको छैन । त्यस्ता अपराधीहरूको संरक्षण विद्यालय आफैले गर्दै आएको छ ।

कान्ति बाल अस्पतालको मानसिक विभागले विद्यालयमा दिइएको Corporal punishment का कारण बालिकाको यस्तो अवस्था भएको भनि प्रष्टपार्दै यस विषयमा गम्भिर हुन सचेत गराउॅदै पत्र काटेको अवस्थामा समेत विद्यालयले ति अपराध मनोवृत्तिका २ शिक्षिकालाई कुनै कारवाही गर्न मानेन ।

हामीले विभिन्न स्थान जस्तैः बाल हेल्प लाईन नेपाल , बुढानिलकण्ठ विद्यालय प्रशासन, शिक्षा मन्त्रालय नेपाल, राष्ट्रिय बाल परिषद नेपाल लगायतका स्थानमा समेत दोषिलाई कारवाहीको माग राखी लिखित निवेदन पनि हाल्यौं । शिक्षा मन्त्रालयका सहसचिव रूद्र अधिकारीले यसमा आफ्नो कुनै भूमिका नहुने भनेर ठाडै अस्विकार गर्नु भयो जबकि उहाँ आफै बुढानिलकण्ठ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा हुनुहुन्छ । बेशर्मीको पराकाष्ठा देखाउने निर्लज्ज कर्मचारीहरू पदीय लाभ मात्रै लिन अग्रसर हुन्छन् तर पदको गरिमा र दायित्वबाट सोझै पञ्छिन जान्छन् भन्ने हामीलाई सर्वविदितै छ । अहिलेका शिक्षा मन्त्री सम्म यो खबर पुगोस् र उहाँको यसमा ध्यानाकर्षण होस् भन्ने कामना म गर्दछु ।

राष्ट्रिय बाल अधिकार परिषद ( NCRC ) ले यस विषयमा अनुसन्धान तथा कारवाही गर्न भनि प्रहरी वृत्त, महाराजगंज, काठमाण्डौलाई पत्राचार गर्यो । प्रहरीले आफ्नो कर्म पुरा गरेको बतायो । हामीले निश्कर्ष के भो भनेर बुझ्न जाँदा “ हामी त Conclusion मा पुग्नै सकेनौं” भन्ने जस्तो गैर जिम्मेबारपूर्ण मौखिक जवाब त्यहाँका इन्सपेक्टर “हमाल”ले दिनु भयो ।

यसलाई हामी पिडितले कसरी बुझ्ने ? प्रहरी सोझै प्रभावित छ भन्ने बुझ्न थप अरू के चाहिन्छ यसमा ??? यसपछि हामीले किटानी जाहेरीको बाटो रोज्यौं । विभिन्न बहानामा महाराजगंज प्रहरीले पहिला किटानी जाहेरी समेत लिन नमानेपछि भद्रकाली परिसर हुँदै म सोझै “जिल्ला सरकारी वकिल कार्यालय” पुगें र मेरो जाहेरी प्रहरीले लिन नमानेकोले जाहेरी सम्बन्धमा निवेदन् दिएँ ।

केसको गम्भिरतालाई बुझेर जब सरकारी वकिल कार्यालयले तत्काल जाहेरी दर्ता गरी कारवाही अगाडी बढाउनु भनि निर्देशन दियो तब मात्रै प्रहरीले उक्त जाहेरीमा काम गर्न शुरू गर्यो । २०८३ बैशाख ७ गते दर्ता भएको, दर्ता नं ९१६ रहेको उक्त जाहेरीमा के भएको छ भनि बारम्बार बुझ्न जाँदा समेत “काम भै रहेको छ” भन्ने २ टुक जवाब दिएर टार्ने प्रहरीले आज २ महिना भन्दा बढि समय सम्म के कस्तो उपलब्धी गर्यो, हामीलाई कुनै सूचना दिएको छैन । नेपालको संविधान २०७२ ले सुरक्षित गरेको मौलिक हकको धारा २१ ले प्रदान गरेको “अपराध पिडितको हक”लाई समेत प्रहरीले सोझै बेवास्ता गरेर लत्याएकोछ ।

मेरो चूनौति छ नेपाल प्रहरीलाई, यदि मैले गलत उजुरी गरेकी छु भने मलाई तत्काल कारवाही गरियोस् होइन भने सही ढंगबाट ति अपराधीहरूलाई पक्राउ गरी अनुसन्धान गरियोस् ।नेपाल प्रहरीको सुझबुझ र काबिलियतका उदाहरण पढ्दै/ सुन्दै आएका हामीले नेपाल प्रहरीकै चरमको लापरवाही, कर्तव्यप्रतिको उदासिनता, गतिहिनता र अकर्मण्यताका उदाहरण पनि पटक पटक देख्दै / पढ्दै आएका छौं ।

बेलैमा होश नपुर्याउँदा पिडित पक्ष झनै पिडित हुने र पिडक पक्ष बलियो भएर पाखुरा सुर्किने गरेका थुप्रै उदाहरण हामीले विगतमा पनि देखेकै हो । फोनकलको भरमा विद्यालयले जे जे भन्यो त्यसैलाई सदर गरेर कागज भर्नुलाई यदि महाराजगंज प्रहरीले अनुसन्धानको नाम दिन्छ भने त्यस्तो ठाउँबाट पिडित पक्षले न्यायको के आशा गर्ने ?

प्रहरीको यस्तै रवैया देखि सकेपछि नै हामी अन्तिम प्रयास स्वरूप साथ र सहयोगको अपिल गर्दै सञ्चार माध्यम मार्फत हजुरहरू समक्ष आउन बाध्य भएका छौं । मानिसको मेरूदण्डमा चोट लाग्यो भने मानिसले केही गर्न सक्दैन् किनकि मेरूदण्डले नै शरिर चलायमान बनाउँछ । तर त्यो मेरूदण्ड भन्दा बलियो अर्थात सम्पूर्ण शरिरलाई नै सञ्चालन गर्ने, चेतना र विवेकलाई सम्हाल्ने मस्तिष्कलाई नै विक्षिप्त अवस्थामा पुर्याईदिने अपराधीहरूलाई के कुनै कारवाही गर्नुपर्दैन ???

सामान्य चोट पटक लागेको भए, हात खुट्टा नै भाँचिएको भए बरू एकदिन निको हुन्छ भन्ने आधार हुने थियो । तर छोरीको केसमा उसको अवस्थामा सुधार कहिले हुन्छ ? सुधार हुन्छ पनि कि हुँदैन भन्ने किटान आज सम्म पनि चिकित्सकहरूले दिन सकेको छैन । अनि यस्तो अवस्थालाई सामान्य रूपमा बुझिदिने कस्तो बौद्धिकता रहेछ विद्यालय प्रशासन र सम्बन्धित निकायको ?

बुढानिलकण्ठ विद्यालयले कुन नैतिकताका आधारमा सरकारी सेवा सुविधा दिएर त्यस्ता अपराधीहरूको पक्ष पोषण गरिरहेको छ ? अपराधिहरूको संरक्षण गरि राख्ने र सधैजसो विवादमा तानिने यस्ता विद्यालयलाई कुन आधारमा अव्वल विद्यालयको सूचिमा राख्ने हो सरकार ? त्यस्तो विद्यालयले कस्तो नैतिकताको पाठ पढाउने हो र कस्तो समाज निर्माणमा टेवा पुर्याउने हो ? अव्वल छात्राका रूपमा परिचित एउटी नाबालिका २ अपराधीका कारण विद्यालय जान र कक्षाकोठामा बसी पठन पाठन गर्नबाट समेत वञ्चित रहँदै आएकी छिन् । विभिन्न विद्यालयले उनको यो अवस्था बुझेपछि भर्ना समेत लिन नमानेको अवस्थामा बल्ल तल्ल उनलाई भानुभक्त मेमोरियल विद्यालय पानी पोखरीमा भर्ना गरेका छौं ।

यस विद्यालयको व्यवहार अत्यन्त मित्रवत एवम् सहयोगी पाएका छौं । तर पिडिताको अचेत हुने र स्मृति नै हराउने अवस्थाका कारण लामो समय देखि उनि विद्यालय जान भने न सकेको अवस्था छ । अस्पतालको नियमित निगरानी मैं रहँदै आएकी उनि बाल अधिकार त छोडौं सामान्य जीवन समेत जीउनबाट वञ्चित हुनु परेको अवस्था छ । र उनलाई यो अवस्थामा पुर्याउने अपराधीहरू भने मोज मस्तिपूर्ण जीवन बाँची रहेका छन् ।

सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो एउटा मात्रै प्रश्न छ ——-
के बुढानिलकण्ठ विद्यालयलाई नेपाल सरकारले स-साना नानी बाबुहरूको जीवनसँग खेलवाड गर्ने इजाजत पत्र दिएको हो ? होइन भने किन र के का आधारमा उसले पटक पटक यस्ता कू कृत्यहरू गर्दै / लुकाउँदै र उन्मुक्ति पाउँदै आएको हो ? जवाब खोजिनु पर्दैन र ?

-सावित्रा घिमिरे 

प्रकाशित मिति : June 28, 2026 at 6:01 am