विष्णु पौडेलले विचौलिया दीपक भट्टका लागि सेयर हत्याउन अन्य व्यवसायी धम्क्याएको खुलासा
९ असार, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर रातभर माइक्रोबसमा कुदाएर काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
पाैडेलले विचाैलिया दीपक भट्टका लागि सेयर हत्याउन अन्य व्यवसायीमाथि धम्की र दबाब दिएको अभियोग समेत लागेको छ । करेन्ट चाउचाउका लगानीकर्ता चुन्नु पौडेल र कमल मालपानीले पौडेलकै दबाबका कारण श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई सस्तोमा बेचेको बयान दिएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतलाई गत जेठमा व्यवसायीहरू कमलकिशोर मालपानी र चुन्न प्रसाद पौडेलसँग बयान लिइएको जानकारी गराएको थियो । त्यसपछि विशेष सरकारी वकिल कार्यालयले भट्टसहित ३९ जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा अभियोजन गरेको थियो । सोही मुद्दाको पुरक अभियोजन लैजान पाैडेल समातिएको विभागको दाबी छ ।

प्रकाशित मिति : June 23, 2026 at 7:48 pm







