पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापतिले ओढाए पार्टीको झन्डा
८ असार, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए । आज पशुपतिस्थित आर्यघाटमा उनकाे अन्तिम संस्कार गरिने भएको छ ।
विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए । कांग्रेस राजनीतिमा उनी सादगी नेताका रुपमा परिचित छन् । उनका तीन छोरा र छोरी छन् ।
प्रकाशित मिति : June 22, 2026 at 12:28 pm









