आगामी असोज मसान्तभित्र विवरण बुझाए कम्पनीको जरिवाना र शुल्क मिनाहा हुने
३ असार, काठमाडाैं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने बताएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, आर्थिक विधेयक २०८३ को दफा ४८ को व्यवस्था बमोजिम कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि अहिले निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुनेछ । जुनसुकै कम्पनीले आफ्नो व्यवसाय जारी राख्न चाहेमा वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/०८३ को लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण पेश गर्नुपर्नेछ ।

यस्तो विवरण र शुल्क आगामी २०८३ साल असोज मसान्तभित्र बुझाइसक्नुपर्ने छ । यदि कुनै कम्पनीले आगामी असोज मसान्तभित्र आव २०८२/८३ सम्मको विवरण र शुल्क बुझाएमा, सोभन्दा अघिका वर्षहरूको लाग्न बाँकी सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना पूर्ण रूपमा मिनाहा (माफ) हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : June 17, 2026 at 4:41 pm









