भिजिट नेपाल २०२० को निम्तो दिएर आयरल्याण्डमा पनि मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)
९ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र दिवसका सुखद उपलक्ष्यमा नेपाली राजदूतावासले यही २०७५ फाल्गुण ७ गते उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरेको छ। संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष अर्लेन फोस्टरले प्रमुख अतिथि तथा उत्तरी आयरल्याण्डका संसदका सभामुख रविन नेटोन विशेष अतिथिका रुपमा उपस्थित थिए । विशेष समारोहमा उत्तरी आयरल्याण्डका सांसदहरु, स्थानीय मेयर, उप-मेयर र काउन्सिलरहरु समेत उपस्थित रहेका थिए ।

विशेष समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालमा लोकतन्त्र र गणतन्त्रको अभ्युदय र नागरिक हकअधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्नुहुने प्रात:स्मरणीय शहीदहरुमा संयुक्त अधिराज्य, माल्टा र आयरल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गरे । डा. सुवेदीले यस पावन दिवसले लोकतान्त्रिक गणतन्त्रको आलोकमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वसहित समृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नेछ भन्ने आशा एवं विश्वास व्यक्त गरे ।

संयुक्त अधिराज्यमा एक लाखभन्दा बढी नेपाली र नेपालीमूलका नागरिकहरुको स्थायी बसोबास रहेको र उहाँहरुको नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुहुँदै राजदूत डा. सुवेदीले बीस लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सन् 2020 लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको घोषणालाई सफल बनाउन मैत्रीपूर्ण बेलायती नागरिकहरु र समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग र सहभागिताका लागि आह्वान गरे ।

प्रकाशित मिति : 01:08













