एमाले नेता तथा वीरगन्ज मेयर राजेशमानसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२५ जेठ, काठमाडौं । झुटा कागजात तयार गरी अर्कै व्यक्तिलाई नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एमाले) नेता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अर्कैकी छोरीलाई आफ्नै छोरी भएको देखाएर नेपाली नागरिकता प्राप्त गराउन कागजात तयार पारिएको तथा त्यस प्रक्रियामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
अख्तियारले सिन्धुपाल्चोककी रिता भट्टराईलाई पनि प्रतिवादी बनाएको छ। आयोगको दाबीअनुसार उनले राजेशमान सिंहकी छोरीका रूपमा नागरिकता लिएकी थिइन्।

यस प्रकरणमा वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईलाई समेत प्रतिवादी बनाइएको छ। त्यस्तै नागरिकता सम्बन्धी छानबिन प्रक्रियामा संलग्न गृह मन्त्रालयका तत्कालीन उपसचिव तथा छानबिन समितिका संयोजक पुस्कर राना र सदस्य–सचिवका रूपमा रहेका शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार मेयर सिंहले झुटा विवरणका आधारमा नागरिकता प्राप्त गर्ने कार्यमा सहयोग, सहजीकरण तथा मतियारको भूमिका निर्वाह गरेको प्रमाण फेला परेको छ। त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गत मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ।
यसअघि यही प्रकरणमा पक्राउ परेका मेयर सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। जेठ १९ गते जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध दस्तखत किर्ते र झुटो विवरण पेस गरी नागरिकता बनाएको सम्बन्धी दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो। अदालतले दस्तखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ तथा झुटो विवरण पेस गरी नागरिकता लिएको आरोपसम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।
वीरगन्ज महानगरपालिकाको नेतृत्व गरिरहेका सिंह नेकपा (एमाले) का प्रभावशाली स्थानीय नेताका रूपमा परिचित छन्। उनीविरुद्ध अख्तियारले दायर गरेको यो मुद्दाले स्थानीय राजनीति र प्रशासनिक वृत्तमा समेत व्यापक चासो उत्पन्न गरेको छ।


प्रकाशित मिति : June 8, 2026 at 6:49 pm









