२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

अर्थमन्त्रीको प्रतीक्षामा र्याडिसनमा निजी क्षेत्र

२५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे निजी क्षेत्रसँग संवाद गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अनुपस्थितिका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको छ।

महासंघले जेठ २२ गते जारी गरेको पत्रमार्फत सञ्चारमाध्यमलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा दिएको थियो । पत्रअनुसार अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा जेठ २५ गते (सोमबार) बिहान ११ः३० बजे लाजिम्पाटस्थित र्याडिसन होटलमा “आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा नीति संवाद कार्यक्रम” आयोजना हुने उल्लेख गरिएको थियो।

तर, कार्यक्रम सुरु हुने निर्धारित समयभन्दा झण्डै एक घण्टा ३० मिनेट बितिसक्दा पनि अर्थमन्त्री कार्यक्रममा उपस्थित नभएको सहभागीहरूले बताएका छन् । दिउँसो १ बजे बल्ल अर्थमन्त्री कार्यक्रमस्थल पुगेका छन । अर्थमन्त्री ढिला हुँदा पत्रकार, उद्योगी–व्यवसायी तथा अन्य सहभागीहरू लामो समयसम्म प्रतीक्षामा बस्न बाध्य भए ।

dainiki.com

सरकारले हालै सार्वजनिक गरेको बजेटबारे निजी क्षेत्रको धारणा, सुझाव तथा बजेटका व्यवस्थामाथि छलफल गर्ने उद्देश्यले महासंघले कार्यक्रम आयोजना गरेको हो। बजेट सार्वजनिक भएपछि निजी क्षेत्रका विभिन्न सरोकारवालाले कर, लगानी, उद्योग प्रवर्द्धन तथा आर्थिक सुधारका विषयमा मिश्रित प्रतिक्रिया दिँदै आएका छन्।

अर्थमन्त्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममै निर्धारित समयभन्दा ढिलाइ भएपछि सहभागीहरूले सरकारी उच्च पदाधिकारीहरूको समय व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महासंघ वा अर्थ मन्त्रालयले अर्थमन्त्रीको ढिलाइको कारणबारे तत्काल कुनै आधिकारिक जानकारी भने सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : June 8, 2026 at 12:58 pm