१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

गोरखापत्रको महाप्रबन्धकमा ३५ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

१९ जेठ, काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा ३५ जनाले दरखास्त दिएका छन । सूचना तथा सञ्चार मन्त्रालयले जेठ ७ गते जारी गरेको सार्वजनिक सूचना अनुसार ३५ जनाको दरखास्त परेको जनाएको छ ।

मंगलबार मन्त्रालयले फेसबुक पेज मार्फत दरखास्त दिनेहरूको सूची सार्वजनिक गरेको छ । प्रतिस्पर्धामा नेकपा एमालेको सरकारमा मन्त्रीको स्वकीय सचिव रहेकादेखि बैंकमा काम गरिरहेका कर्मचारी समेत रहेका छन । तत्कालीन भूमिसुधार मन्त्री बलराम अधिकारीका पिए भेषराज पाण्डे र सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी लक्ष्मण कार्कीले पनि प्रतिस्पर्धामा भाग लिएका छन ।

दरखास्त दिनेमा एमालेका नेता विष्णु रिमालले राससको महाप्रबन्धक बनाउने चाहना राखेर पनि नसकेका नुवाकोटका श्याम रिमाल समेत छन । उनी राससबाटै अवकाश पाएका कर्मचारी हुन । विगतमा एमालेको छातामुनी संगठित रिमाल राससको जागिरे जीवनको अन्त्यतिर माधवकुमार नेपालले बनाएको पार्टीतिर संगठन बनाउने अभियानमै सक्रिए भएका थिए ।

गोरखापत्र संस्थान भित्रैबाट तुल्सीहरि कोइराला र प्रकृति अधिकारीले पनि महाप्रबन्धकको प्रतिस्वर्धामा सहभागिता जनाएका छन । उनीहरू दुबै गोरखापत्र संस्थान बुझेका कर्मचारी हुन ।

प्रतिस्पर्धामा शुक्रबार साप्ताहिकका तत्कालीन सम्पादक राजन नेपाल पनि सहभागी भएका छन । नुवाकोट स्थायी घर भएका नेपालले पछिल्लो पटक निर्वाचन आयोगमा बसेर सञ्चार परामर्शदाताको रूपमा काम गरेका थिए । प्रतिस्पर्धामा युवा पत्रकार रामचन्द्र अर्यालले पनि सहभागिता जनाएका छन । हाल हिमालय टेलिभिजनमा कार्यरत अर्याल सञ्चारमन्त्रीको मन्त्रीको गृह जिल्लाका स्थायी बासिन्दा हुन ।

अब मन्त्रालयले सिफारिस समिति मार्फत छोटो सूची बनाएर प्रतिस्पर्धीको प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनाको नाम महाप्रबन्धकमा नियुक्ति गर्ने निर्णय गर्नेछ । कार्यकारी पद र पैसा धेरै भएको संस्था भएकाले गोरखापत्र संस्थानको महाप्रबन्धको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । बाहिर प्रचार गरिएको जस्तो निष्पक्ष तवरले नै महाप्रबन्धक छनौट भयो भने गोरखापत्रले पनि नयाँ जीवन पाउने पक्का छ ।

प्रकाशित मिति : June 2, 2026 at 9:05 pm