श्रीषा, शम्भु, शालिकराम, निर्मला सारा प्रकरणको टुंगो लगाइयोस्ः किशोर श्रेष्ठ
१६ जेठ, काठमाडाैँ । पत्रकार किशोर श्रेष्ठले सारा प्रकरणको टुंगो लगाउन सरकारसँग प्रस्ताव गरेका छन । उनले भूतप्रभावी कानुन बनाएर भए पनि श्रीषा, शम्भु, शालिकराम, निर्मला सारा प्रकरणको टुंगो लगाउन प्रस्ताव गरेका छन ।

यस्तो छ किशोरको प्रस्ताव
हामीले गरेको भित्री खबरको उत्खननका कारण तिल्मिलाएका केही पात्रहरु,अलिकति तथ्यप्रमाण,अलिकति लाज घीन,अलिकति कानुनी प्रावधानको त ख्याल राख्नुहोस् ! तपाईंहरुको समय अलि बढी नै एकपाखे भएर बहकिनमा बर्बाद भयो कि ! अघिल्लो शनिबार हामीले नै बिस्तृत अनुसन्धानका निम्ति प्रहरीलाई उपलब्ध गराएको सिसिटिभी फुटेज,हामीले नै प्रकाशित गरेको ०५९ असोज ३० गते बसुन्धरा भुषालले जनआस्था बन्द गराउन गृह मन्त्रालयलाई दिएको जाहेरी (त्यो सार्वजनिक अपराधको आरोप थियो,त्यसलाई कसरी ज्यान मुध्दामा परिणत गरियो ? यो पनि खोज्नुहोस् है ! ) तान्दै हामीबिरुध्द भएभरको बल निकालेर सत्तोसराप गर्दै हुनुहुन्छ । आफ्नै हिसाबले पनि मेहनत गरेर केही प्रमाण खोज्दा हुन्न ! २३ बर्षसम्म बेखबर बसेर अहिले एक्कासी जनआस्थामा एक से एक स्कुप आउन थालेपछि त्यसको प्रतिशोध साँध्ने नाममा अभिनेत्री श्रीषा कार्कीको परिवारलाई न्याय दिएको कि घाउमा नून चुक छर्केको ?
९ बर्षअगाडि सारा कुरा बकितम गरेर गएका पत्रकार शालिकराम पुडासैनी र ३ बर्षअगाडि बितेका ड्राइभर शम्भु थापाको कथा र परिवारप्रति पनि उत्तिकै चिन्ता जाहेर गर्नुभएको भए तपाईंको निष्पक्षतालाई देश दुनियाँले सलाम भन्न मौका पाउने थिए ।
४५ जना भिआइपीको अनेक चलखेल र उनको फोटो प्रकाशन (खिचेको वा अन्य कुनै गतिविधि) बाहेक उक्त समाचारमा हाम्रो सँलग्नता भेटिन्छ भने सरकार तपाईंसङ्ग छ-सख्त अनुसन्धान गरोस् । ठहरिन्छ भने हामीलाई जेल हालोस् । दोषी ठहरिएका जो कोहीले छुट पाउनुहुन्न । भूतप्रभावी कानुन बनाएर भए पनि श्रीषा,शम्भु,शालिकराम,निर्मला-सारा प्रकरणको टुंगो लगाइयोस् ।
के हाम्रो खोजी पत्रकारितालाई यसरी नै हतोत्साहित गरेर,हामीले नै प्रस्तुत गरेका दस्तावेजहरु हाम्रै साइटबाट तान्दै हामीविरुध्द तोप हानेर तपाईंहरुको मन शान्त हुन्छ ? २३ बर्षअगाडि न्यायिक टुंगो लागिसकेको बिषय घरिघरि उछालेर तपाईंहरुको खिल निस्कन्छ ? त्यसो हो भने हार्दिक निम्तो छ-अलिकति पनि ढिलाइ नगरी आएर हामीलाई झुण्ड्याउनोस् न है ! आलोचनाको स्वरलाई गालीले मार्न खोज्ने तपाईंहरुको महान अभियानमा हामी सुकरात बन्न आतुर छौँ ।
प्रकाशित मिति : May 30, 2026 at 12:35 pm









