नागढुंगा सुरुङमार्ग साउनबाट सञ्चालनमा आउने
१५ जेठ, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनबाट सञ्चालनमा आउने भएकाे छ । शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुरुङ मार्ग छिट्टै सञ्चालनमा ल्याइने बताएका हुन् ।
सुरुङमार्गको निर्माणको काम ९८ प्रतिशत सकिइसकेको छ । अहिले सुरुङ सञ्चालनका लागि १ सय ५० जना जनशक्तिलाई तालिम दिने काम भइरहेको आयोजनाले जनाएको छ ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । तर पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ ।
सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । सुरुङ निर्माणमा जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्ने तयारीसहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया टुंगिइसकेको छैन । सुरुङ निर्माणको म्याद १२ वैशाख २०८३ सम्म छ ।
प्रकाशित मिति : May 29, 2026 at 5:30 pm









