ओलीलाई नेतृत्व छोड्न एमाले महासचिव पोखरेलको आग्रह
९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब थप बढेको छ । शुक्रबार चार उपाध्यक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि शनिबार महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईले पनि नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका हुन् ।
बैठकमा महासचिव पोखरेलले पार्टीभित्र पुनर्गठनको माग व्यापक रूपमा उठिरहेको उल्लेख गर्दै वर्तमान अवस्थामै पार्टी अघि बढ्न नसक्ने बताएका छन् । उनले ‘यथास्थितिबाट एमाले अघि बढ्न सक्दैन’ भन्दै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको एक नेताले बताएका छन् ।
यसअघि अध्यक्ष ओलीका निकट मानिएका पोखरेलले यसपटक खुला रूपमा नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि बैठकमा त्यसको विशेष चर्चा भएको छ । यद्यपि उनले प्रत्यक्ष रूपमा ‘राजीनामा’ शब्द प्रयोग नगरे पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको संकेत गरेका थिए ।
उता उपमहासचिव योगेश भट्टराईले भने बैठकमै स्पष्ट रूपमा अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । एमालेभित्र पछिल्लो समय संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरण र पार्टीको भावी दिशाबारे बहस तीव्र बन्दै गएको छ ।
प्रकाशित मिति : May 23, 2026 at 6:51 pm









