७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

प्रभु बैंक घोटलाः मुक्तिनाथ विकास बैंकका सिईओ तारा मानन्धर अनुसन्धानमा तानिए

७ जेठ, काठमाडाैँ । प्रभु बैंकको घोटलामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तारा मानन्धर अनुसन्धानमा तानिएका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ऋण अपचलन तथा बैंकिङ कसुर गरि अपराध गरेको अभियोगमा जारी राखेको अनुसन्धानमा मुक्तिनाथ विकास बैंकका सिईओ मानन्धर पनि तानिएका हुन ।

मानन्धरमाथि  प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ । जानकी मेडिकल कलेजको नाममा भएको १ अर्ब ५० करोड ऋण अपचलनमा मानन्धरमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मानन्धरले बेलायत बसेर प्रभु बैंकको प्रतिनिधि बनेर हुण्डी कारोबारमा समेत काम गरेको अनुसन्धानबाट केही तथ्यहरू फेला परेका छन । मानन्धर केही महिनाअघि मुक्तिनाथ विकास बैंकको सिईओमा नियुक्ति भएका थिए ।

मानन्धर सम्भवत आज प्रहरीकोमा वयान दिन जाँदैछन् । जानकी मेडिकल कलेजको नामको ऋण अपचलन हुँदा मान्धनरले एकै समय दुबै संस्थामा सँगै काम गरेको तथ्य समेत प्रहरीले फेला पारेको छ । प्रभु बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँगको मिलेमतोमा मानन्धरहरूले ऋण अपचलनमा भूमिका खेलेको पाइएको छ ।

मानन्धर डिस मिडिया नेटवर्कको पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन । मानन्धरले मसरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन । मान्धनरले हुण्डी कारोबार गरेका बारेमा छुट्टै अनुसन्धान पनि गर्ने प्रहरीले संकेत गरेको छ ।

भट्टचन, शेरचन लगायत अनुसन्धानको क्रममा पक्राउ परे पनि अदालत मिलाएर छुटिसकेका छन । ऋण अपचलन लगायत बैंकिङ कसुरमा संलग्न रहेको प्रभु बैंककै कर्मचारी रश्मी पन्त भने अहिलेसम्म फरार नै रहेकी छिन । कम्पनीको रेकर्ड अनुसार २०७२ साल जेठ २२ मा जानकी मेडिकल कलेजको नाममा शेयर हरिमान लामा, हरिकृष्ण भट्टचन र धन बहादुर शेरचन अर्थात डिबी शेरचनको नाममा शेयर खरिद भएको थियो । यसपछि नै प्रभु बैंकबाट एक अर्ब ५० करोड ऋण निकालिएको देखिन्छ ।

हरिमानको नाममा १६ लाख थान सेयर देखिन्छ । भट्टचनको नाममा २९ लाख ५० हजार ८ सय ६० कित्ता सेयर देखिन्छ । उनले यो सेयर खरिद गरेबापत २९ लाख ५० हजार ८ सय ६० रुपैयाँ नै रकम बुझाएको रेकर्डमा उल्लेख छ । यद्धपी हरिमानले भने सोही सेयरबापत १६ करोड रुपैयाँ चुक्ता गरेको उल्लेख छ ।  हरिमान तीनै व्यक्ति हुन जसले नागरिक उडयन प्राधिकरणलाई २३ करोड रुपैयाँ तिर्न नसकेर फरार छन् । उनले प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयलाई दिएको ७ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको छ । हरिमान लामाहरू फरार भएपछि जानकी मेडिकल कलेजको शेयर भने ओम प्रसाद पाण्डे ‘ओपी’ लगायतको नाममा हस्तान्तरण भएको देखिन्छ । यस विषयमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

प्रकाशित मिति : May 21, 2026 at 8:54 am