१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

सकारात्मक संवादका लागि जेनजी प्रतिनिधिहरूलाई कार्यदलको आह्वान

१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ । जेनजीका प्रतिनिधिसँग आज हुने लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो ।

आज साँझ ५ः०० बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेनजी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पार्नुभएको हो । अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उहाँले जेनजी परिषद् निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उहाँले आग्रह गर्नुभएको छ । कार्यदलले जेनजीबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ ।

शाहले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेनजीलाई अनुरोध गर्नुभएको छ ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

शासकीयस्वरूप, निर्वाचन प्रणाली र सङ्घीयताजस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूचीअनुसार यो प्रक्रिया अघि बढाइएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेनजीको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : 15:45