३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

भाग्दा भाग्दै मध्यरातमा सडकमै समातिए पाण्डे

३० वैशाख, काठमाडौँ । मोबाइल अफ गरेर भागेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे गएराति नै पक्राउ परेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार राति ८ बजे सिन्धुलीबाट पक्राउ गरेको हो । सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा राति अन्दाजी ८ बजेको समयमा पक्राउ गरी काठमाडाैँ ल्याइएको छ ।

ब्यूरोले विज्ञप्तिमा भनेको छ, ‘जिल्ला काठमाडौं का.म.पा. वडा नं. १८, रक्तकाली स्थायी ठेगाना भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ५ मानभवन बस्ने वर्ष ६३ को नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. को प्रमुख कार्यकारी अधिकृत (CEO) ज्योति प्रकाश पाण्डे निजले प्रयोग गर्ने मोबाईल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा मिति २०८३/०१/२९ गते राति अन्दाजी २०:०० बजेको समयमा पक्राउ गरी अनुसन्धान भईरहेको ।’

स्मार्ट टेलिकमको नेपाल सरकारको नाममा आइसकेको जग्गा बेइमानी पूर्वक बेचबिखन गरेको अभियोग प्रहरीले लगाएको छ । प्रहरीले विज्ञप्तिमा भनेको छ,  ‘प्रस्तुत विषयमा नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट मिति २०७०।०१।०२ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा. लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसूर गरेको ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले मिति २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्ने क्रममा बुदा नं. २ मा “लिलाम विक्री गरिने दूरसञ्चार सेवासँग सम्वन्धिंत विभिन्न उपकरण लगायतका सामाग्रीहरु जडान भएका घर – जग्गा धनीहरुलाई स्मार्टसेलले बुझाउनु पर्ने बाँकी घर वाहल र बिद्युत महशूल रकम समेत ४० करोड एकमुष्ठ रकम कबुल गरी बोलपत्र पेशगर्नु पर्ने” भनी उल्लेख गरी बोलपत्र पेश गर्न सूचना प्रकाशित भएकोमा सो रकम बैंकले लिई हालसम्म घर धनिलाई घरबहालको साथै बिद्युत महशुल समेत नदिई/नतिरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात गरेको कसूरमा समेत पाण्डेमाथि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

अब उक्त सम्पत्ति बेचविखनम संलग्न भएका बैंक उच्चपदस्थ केही कर्मचारी पनि पक्राउ पर्दैछन ।

प्रकाशित मिति : 11:37