सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’
२९ वैशाख, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेस गरेको छ ।
नेपालको संविधान, अन्य प्रचलित कानुन र नेपालले अनुमोदन गरेका अन्तरराष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानवअधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि गरिनुपर्ने कार्यहरूसमेत उल्लेख गरी आयोगले सरकारसमक्ष पेस गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
आयोगले यही वैशाख २५ मा पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानुनी सुधार, सङ्क्रमणकालीन न्याय, मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवअधिकार, मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवअधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ ।
पत्रमा निर्वाचन, मानवअधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवअधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ । आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ ।
प्रकाशित मिति : 14:39









