मूल आयोजक समिति नै बनाएर निर्मलमणि अधिकारीको जन्मोत्सव मनाउँदै केयुका विद्यार्थी
१७ वैशाख, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक डा निर्मलमणि अधिकारीको जन्मोत्सव मनाउन विद्यार्थीले मूल आयोजक समिति नै गठन गरेका छन । समितिका तर्फबाट बिहीबार जारी विज्ञप्ति अनुसार समितिको संयोजकमा विद्यावारिधीका शोधार्थी अरूण पौडेल संयोक रहनुभएको छ । मुल समितिमा विद्यार्थीसहित केही शिक्षक र कर्मचारी समेत रहेको बताइएको छ । नाम नखुलाइए पनि समाजका विभिन्न तह र तप्काको प्रतिनिधित्व रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार मुल समितिले जेठ १ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम गर्दैछ । समितिले जन्मोत्सवका अवसरमा विभिन्न गोष्ठी, डकुमेन्ट्री प्रदर्शन सांस्कृतिक तथा नेटवर्किङ कार्यक्रम र प्रा।डा। अधिकारीको विशेष सम्मान तथा अभिनन्दन गरिने संयोजक पौडेलले उल्लेख गर्नुभएको छ ।
यस्तो छ विज्ञप्ति
सिद्धान्तकार प्रा. डा. निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मूल आयोजक समिति-२०८३
२०८३ वैशाख १७ गते प्रेस विज्ञप्ति
स्वर्ण जन्मोत्सव समारोहको आयोजना गरिँदै
शैक्षिक, सामाजिक–सांस्कृतिक, दार्शनिक तथा साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएका सिद्धान्तकार प्रा. डा. निर्मलमणि अधिकारीको सम्मानमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्वर्ण जन्मोत्सव समारोह आयोजना गरिने भएको छ । प्रा.डा. अधिकारीका सञ्चार सिद्धान्त विश्वका अनेकौँ विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरी पठनपाठन र अनुसन्धान हुँदैआएको छ ।
कार्यक्रम यही मिति जेठ १ गते, शुक्रबार दिउँसो २:०० बजे देखि साँझ ६०० बजेसम्म राष्ट्रिय नाचघर, जमलमा गर्न लागिएको हो । स्वर्ण जन्मोत्सव समारोह आयोजनाका लागि अरुण पौडेलको संयोजकत्वमा समाजका विभिन्न तह र तप्काको प्रतिनिधित्व सहित स्वर्ण जन्मोत्सव मूल समारोह समिति-२०८३ गठन समेत गरिएको छ । सोही समितिले गर्न लागेको कार्यक्रममा विभिन्न गोष्ठी, डकुमेन्ट्री प्रदर्शन सांस्कृतिक तथा नेटवर्किङ कार्यक्रम र प्रा.डा. अधिकारीको विशेष सम्मान तथा अभिनन्दन गरिने जानकारी गराउँदछौं ।
अधिकारीको पाँच दशक लामो जीवनयात्रामा हासिल गर्नुभएको उपलब्धि र योगदानको कदरस्वरूप उक्त विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस विशेष अवसरले प्रा. डा. अधिकारीज्यूको शैक्षिक उत्कृष्टता, नेतृत्व र समाजप्रतिको योगदानको सम्मान गर्ने लक्ष्य राखेको छ ।
प्रा. डा. निर्मलमणि अधिकारीको बारेमा
वि.सं २०३३ जेष्ठ १ गते तनहुँको छाङमा जन्मनु भएका प्रा. डा. निर्मलमणि अधिकारी नेपालका एक प्रतिष्ठित सिद्धान्तकार, सञ्चारविद् एवं शिक्षाविद् हुनुहुन्छ । प्रा.डा. अधिकारीद्वारा लिखित ६० भन्दा बढी पुस्तकहरू, ८० भन्दा बढी अनुसन्धान लेखहरू र सयौँका सङ्ख्यामा लेख—रचनाहरू नेपाली, अङ्ग्रेजी, संस्कृत, हिन्दी, मैथिली, भोजपुरी, नेवारी लगायतका भाषाहरूमा प्रकाशित छन् । नेपालबाट सञ्चार विधामा पहिलो विद्यावारिधि (पिएचडी), पहिलो पोस्टडक्टरेट साथै मिडिया स्टडिज् सञ्चार विषयका नेपालकै पहिलो “प्रा.डा.” हुने कीर्तिमान कायम गर्नुभका अधिकारी विभिन्न विधाहरूमा प्राज्ञिक तथा प्रायोगिक अनुसन्धान र सिद्धान्तको अभिनिर्माण पनि गर्नु भएको छ ।
अधिकारीद्वारा अभिनिर्मित स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र, सञ्चारयोग तथा सञ्चारको साधारणीकरण ढाँचा जस्ता सिद्धान्तहरूले अन्तरराष्ट्रिय ख्याति पाएका छन् । विशेषगरी सञ्चार सिद्धान्त र मिडिया अध्ययनका क्षेत्रमा उहाँको योगदानलाई अन्तरराष्ट्रिय प्राज्ञिक जगतमै उदाहरणीय मानिन्छ । सम्प्रति उहाँ काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख पनि हुनुहुन्छ ।
थप जानकारीका लागि सम्पर्क
फोनः ९८६०४१०६१८
इमेलः [email protected]
अरूण पौडेल
संयोजक
स्वर्ण जन्मोत्सव मूल आयोजक समिति-२०८३
प्रकाशित मिति : 17:48









