१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सेयर खरिद गर्न पाउनु मेरो कानुनी अधिकार होः शारदा रिजाल

१३ वैशाख, काठमाडौँ । दैनिकीमा प्रकाशित भएको ‘बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार’ समाचारमा शारदा रिजालले असहमति जनाउनुभएको छ । उहाँले दैनिकीमा पत्र पठाउँदै आफूले कमाएको पैसाले नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको दाबी गर्नुभएको छ । उहाँले समाचारमा प्रयोग भएका भाषामा समेत आपत्ति जनाउनुभएको छ ।

विचौलिया भनेर चिनिनुभएको व्ययवसायी दीपक भट्टको योजनामा सेटिङमा लाइसेन्स हत्याइएका सात मध्येको एक कम्पनी हो नेपाल माइक्रो इन्स्योरेन्स । जहाँ दीपक भट्टको ११ लाख २५ हजार कित्ता सेयर देखिन्छ । भट्टको बहिनी अञ्जुको नाममा २५ हजार कित्ता सेयर रहेको देखिन्छ ।

dainiki.com

समाचार माथि टिप्पणी गर्दै शारदाका श्रीमान समेत रहनुभएको लोकातन्त्रर डटकमका सम्पादक विमल गौतमले पनि आफैँले कमाएको पैसाले सेयर खरिद गरेको दाबी गर्दै चेक र बैंक भौचर सार्वजनिक गर्नुभएको छ ।

गौतमले श्रीमती शारदाको १० हजार कित्ता सेयर रहेको नेपाल माइक्रो इन्स्योरेन्स विवाद नभएको र छानविनमा नरहेको संस्था भनेर दाबी गर्नुभएको छ । तर तथ्यले के भन्छ भने दीपक भट्टले सेयर बजारको इन्साइडर ट्रेडिङमा दुरूपयोग गरेको संस्था हो । धितोपत्र बोर्डले अनुसन्धान गरेर भट्टसहित नेपाल माइक्रो इन्स्योरेन्सलाई कारबाही गर्न सिफारिस नै गरेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्सको संस्थापक सेयरधनीको विवरण ।

अर्को कुरा गौतमले हजारौँ लगानीकर्ताको बीचमा आफूहरू पनि रहेको दाबी गर्नुभएको छ तर उहाँले दाबी गरेको जस्तो हजारौँको बीचमा होइन उहाँको श्रीमतीको लगानी ४६ जना संस्थापक मध्येको हो । नेपाल माइक्रो इन्स्योरेन्सको स्थापनामै भूमिका खेलेको देखिन्छ । कम्पनी राजिष्ट्रारको कार्यालयमा भएको रेकर्ड अनुसार शारदा रिजालले इन्स्योरेन्स कम्पनीको स्थापनाको लागि प्रबन्धपत्र र नियमावलीमै हस्ताक्षर गरेरर ल्याप्चे लगाउनु भएको छ । उहाँको साक्षीमा बाराका कञ्चन सुवेदी रहनुभएको छ ।

लोकान्तर डटकमका सम्पादक विमल गाैतमले समाचार माथि फेसबुकमा गर्नुभएको टिप्प्णी ।

बिचौलिया भट्टसँग गृहमन्त्री सुदन गुरुङको व्यावसायिक साझेदारीको समाचार बाहिरिएपछि हामीले हिमालखबर डटकममा २०८० मंसिर १३ गते बुधबार प्रकाशित भएको रमेशकुमारको ‘लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स’ शीर्षकको समाचारबाट संस्थापकहरूको सम्बन्ध केलाएका हाैँ । नीतिगत भ्रष्टाचार गरेर सेटिङमा लिइएको लघु बीमाको लाइसेन्स र त्यसमा सेयरको रूपमा मिडिया र पत्रकारको संलग्नता केलाउने प्रयासमात्र दैनिकीले गरेको छ ।

नेपालमा पछिल्ला केही वर्षयता पत्रकारितामाथि विश्वास संकट गहिरिँदै गएको छ र विशेषगरी केही पत्रकारहरूले विवादित व्यापारीहरूसँग नीतिगत भ्रष्टाचारमा साझेदारी गर्दै आफ्नो तथा श्रीमतिको नाममा सेयर लिएको तथ्य हामीले केलाएका हाैँ यो तथ्य दुई वर्षअघि नै हिमालखबरमै सार्वजनिक भैसकेको छ ।

सेटिङमा लाइसेन्स, मुख थुन्न सेयर बितरण

न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै २०७९ भदौमा सात लघु बीमा कम्पनी स्थापनाका निम्ति प्रस्ताव मागेको नेपाल बीमा प्राधिकरणले मंसीर ४ को आमनिर्वाचनको मुखैमा लाइसेन्स वितरणको प्रक्रिया थालेर निर्वाचन परिणाम समेत सार्वजनिक भैनसक्दै मंसीर ११ मा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी छानिएको सूचना नै प्रकाशन गरेको थियो । जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्सले लाइसेन्स पाएका थिए ।

राज्यका अन्य सबै संयन्त्र निर्वाचनकेन्द्रित भएको मौका छोपेर हतारोमा लाइसेन्स किन बाँडियो त ? यस्तो प्रश्न गर्ने पत्रकार र कतिपय सञ्चार माध्यम नै यही प्रक्रियामा सहभागी भएर सेयर लिन पुगे । कतिपयले यसमा ‘निश्चित घराना र समूह पोस्ने मिलीभगत’ रहेको आशंका गरेका थिए जुन समयक्रममा प्रमाणित हुँदै समेत गएको देखिन्छ । प्राधिकरणले अनुमति दिएका कम्पनी त्यसका लागानीकर्ताहरू हेर्दा सबै क्षेत्रको मुख बुझो लगाउने गरी सेयर बाँडिएको देखिन्छ । निश्चित घराना र समूहले प्रवर्द्धन गरेका कम्पनीलाई सुनियोजित रूपमै अनुमति दिइएको लघुबीमामा पत्रकारका प्रश्नहरू किन सुनिएन भन्ने कुरा अहिले आएर सार्वजनिक भएको छ।

यिनका लगानीकर्ताको विवरण हेर्दा पछिल्लो समय वित्तीय क्षेत्रका ठूला लाइसेन्स हत्याइरहेको व्यावसायिक घराना शंकर समूह तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट तथा उनीहरू निकट व्यवसायीले मात्र लघु बीमाको अनुमति पाएको खुल्छ जुनकुरा हिमालखबरले रमेशकुमारको खोजमा दुई वर्षअघि नै सार्वजनिक गरेको देखिन्छ । शंकर समूह र इन्फिनिटीले साथै लिएर हिंडिरहेका शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, कुमुद दुगड, मोतीलाल दुगड, लक्की समूह सहितका व्यवसायी बीमाका यी व्यवसायमा पनि साझेदार देखिछन् । शंकर समूहका साहिल र शुलभ अग्रवाल यसका मुख्य खेलाडी हुनुहुन्छ । यिनै खेलाडीमध्येका भट्ट र अग्रवाल अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।

शारदा रिजालले दैनिकीमा पठाएको पत्र यस्तो छ

प्रकाशित मिति : April 27, 2026 at 9:08 am