१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

१० वैशाख, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताउनुभयो ।

“यस वर्ष रु २३ करोड बजेट भएको यस योजनाको हालसम्म जम्मा रु पाँच/छ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको सङ्ख्या घटाएर न्यून बनाएका छन्”, उहाँले भन्नुभयो, “दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना निर्माणले गति नलिदा अलपत्र पर्ने जोखिम बढेको छ ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ ।

प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ कात्तिक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले निर्माण कार्यको गति घटाएका हुन् । “सबैभन्दा धेरै बजेट भएको दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेकेदारलाई काम लगाउन समस्या भएको हो ।”

सङ्घीय र प्रदेश सरकारको (समपुुरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको हो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख बिनियोजन भएको छ ।

आगामी आवसम्म योजना निर्माण पूरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिनेछ । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो ।

म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्छ । म्याग्दी १(ख) बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण र स्थानीयस्तरमा कामको गति बढाउन सहजीकरण गरिएको बताउनुभयो ।

उक्त सडकअन्तर्गतको धौलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत योजना सम्पन्न गराउन लागिएको बताउनुभयो । मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलिसकेको छ । बेनीदेखि तालावाङसम्म १८ किलोमिटर कालोपत्र भएको छ ।

प्रकाशित मिति : 09:59