अर्थसचिव धनश्याम उपाध्याय पनि विचाैलिया दीपक भट्टको साझेदार
१० वैशाख, काठमाडाैँ । अर्थसचिव डा. धनश्याम उपाध्यायको पनि विचाैलिया भनेर चिनिनुभएको विवादित व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलासा भएको छ । सेटिङमा लाइसेन्स हत्याइएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव उपाध्यायले श्रीमति भगवती उपाध्यायका नाममा १० हजार कित्ता सेयर लिनुभएको छ ।
कर्मचारीदेखि पत्रकारसम्म सबै मिलाएर राज्य संयन्त्र नै करिब कब्जा गरेर व्यवसाय गरिरहनुभएको भट्ट सम्पत्ति शुद्धिकरणको मुद्दामा अहिले प्रहरी हिरासतमा रहनुभएको छ । सार्वजनिक भएका विवरणहरू अनुसार भट्टले पत्रकार, कर्मचारीको श्रीमतीको नाममा न्यूनतम १० हजार कित्ताको दरले सेयर दिलाएको देखिन्छ ।
सेटिङमा लाइसेन्स, मुख थुन्न सेयर बितरण
न्यून आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै २०७९ भदौमा सात लघु बीमा कम्पनी स्थापनाका निम्ति प्रस्ताव मागेको नेपाल बीमा प्राधिकरणले मंसीर ४ को आमनिर्वाचनको मुखैमा लाइसेन्स वितरणको प्रक्रिया थालेर निर्वाचन परिणाम समेत सार्वजनिक भैनसक्दै मंसीर ११ मा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी छानिएको सूचना नै प्रकाशन गरेको थियो । जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्सले लाइसेन्स पाएका थिए ।
राज्यका अन्य सबै संयन्त्र निर्वाचनकेन्द्रित भएको मौका छोपेर हतारोमा लाइसेन्स किन बाँडियो त ? यस्तो प्रश्न गर्ने पत्रकार र कतिपय सञ्चार माध्यम नै यही प्रक्रियामा सहभागी भएर सेयर लिन पुगे भने कर्मचारीहरूले पनि श्रीमतीका नाममा सेयर लिए । कतिपयले यसमा ‘निश्चित घराना र समूह पोस्ने मिलीभगत’ रहेको आशंका गरेका थिए जुन समयक्रममा प्रमाणित हुँदै समेत गएको देखिन्छ । प्राधिकरणले अनुमति दिएका कम्पनी त्यसका लागानीकर्ताहरू हेर्दा सबै क्षेत्रको मुख बुझो लगाउने गरी सेयर बाँडिएको देखिन्छ । निश्चित घराना र समूहले प्रवर्द्धन गरेका कम्पनीलाई सुनियोजित रूपमै अनुमति दिइएको लघुबीमामा पत्रकारका प्रश्नहरू किन सुनिएन भन्ने कुरा अहिले आएर सार्वजनिक भएको छ।
यिनका लगानीकर्ताको विवरण हेर्दा पछिल्लो समय वित्तीय क्षेत्रका ठूला लाइसेन्स हत्याइरहेको व्यावसायिक घराना शंकर समूह तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट तथा उनीहरू निकट व्यवसायीले मात्र लघु बीमाको अनुमति पाएको खुल्छ जुनकुरा हिमालखबरले रमेशकुमारको खोजमा दुई वर्षअघि नै सार्वजनिक गरेको देखिन्छ । शंकर समूह र इन्फिनिटीले साथै लिएर हिंडिरहेका शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, कुमुद दुगड, मोतीलाल दुगड, लक्की समूह सहितका व्यवसायी बीमाका यी व्यवसायमा पनि साझेदार देखिछन् ।
प्रकाशित मिति : 07:47









