सरकारले शून्य बाँकी फाइल साता अभियान चलाउने, अड्किएका फाइलबारे गुनासो दिन आग्रह
९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले “शून्य बाँकी फाइल साता” अभियानअन्तर्गत सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीलाई गुनासो दर्ता गर्न आह्वान गरेको छ।
कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार २०८३ वैशाख ३० गतेदेखि २०८३ जेठ ७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा तीनै तहका सरकारी निकायबाट समयमै फर्छ्योट हुन नसकेका फाइल सम्बन्धी गुनासो लिन लागिएको हो।

कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र बाँकी रहेका फाइलहरू छिटो टुंग्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। यस अवधिमा सेवाग्राहीले आफ्नो फाइल सम्बन्धी समस्या वा गुनासो हेलो सरकार मार्फत दर्ता गर्न सक्नेछन्।
गुनासो दर्ताका लागि टोल–फ्री नम्बर ११११ मा सम्पर्क गर्न सकिने तथा वेबसाइटमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। कार्यालयले सबै सेवाग्राहीलाई यस अभियानमा सक्रिय सहभागिता जनाई आफ्नो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : 20:16









