२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

नेपाल र प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस

-अनिता भट्टराई

मानव जीवनको आवश्यक अमुल्य वस्तु/तत्व स्वास्थ्य हो। “स्वस्थ शरीरमा स्वस्थ मन” भन्ने अभिव्यक्ति एक आदर्श वाक्य मात्र नभई समग्र जीवनदर्शनको मूल सार हो। वर्तमानम समयमा विश्वव्यापी रूपमा स्वास्थ्य भन्नाले रोग नहुनुमा सीमित नरही शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय तथा आध्यात्मिक सन्तुलनमा केन्द्रित हुँदै गएको छ। यही व्यापक दृष्टिकोणलाई आत्मसात् गर्दै नेपालको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघले “अन्तर्राष्ट्रिय आरोग्य दिवस”को अवधारणा अघि सारेको छ । जसले विश्व समुदायलाई समग्र स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य लिएको छ।

आरोग्य शरीर, मन, बुद्धि, भावना र आत्माको सन्तुलित अवस्था हो । मानिसले वास्तविक आरोग्य प्राप्त गर्न शारीरिक स्वास्थ्यमा ध्यान दिनुका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन र आध्यात्मिक जागरणमा सचेत रहनु त्यत्तिकै महत्वपूर्ण हुन्छ । मानिसले जीवनमा तीनवटा मुख्य कुरा खोज्छ—भौतिक सुख, शारीरिक स्वास्थ्य र मानसिक शान्ति। तर यी तीनवटै पक्ष सन्तुलित रूपमा प्राप्त भएन भने जीवनमा आरोग्य प्राप्त हुन सक्दैन। यही सन्तुलनको अवस्था नै “आरोग्य” हो। पूर्वीय दर्शनले यही कुरामा जोड दिएको पाइन्छ। संस्कृत श्लोक “सच्चिदानन्द” को भाव अनुसार, मानिसले सत् (अस्तित्व), चित् (चेतना) र आनन्द (आन्तरिक खुशी) को अनुभूति प्राप्त गर्नुपर्छ। जब व्यक्ति यी तीनवटै आयाममा सन्तुलित हुन्छ, तब मात्र उसले पूर्ण आरोग्यको अनुभूति गर्न सक्छ। त्यसैगरि मानव जीवनका “तीन ताप”—आध्यात्मिक, आधिभौतिक र आधिदैविक—बाट मुक्त हुनु नै आरोग्य प्राप्तिको मार्ग हो।

आजको युगमा मानिसहरू भौतिक समृद्धि तर्फ बढी आकर्षित भइरहेका छन् । प्रतिस्पर्धा, व्यस्तता, प्रविधिको अत्यधिक प्रयोग र सामाजिक सम्बन्धहरूको कमजोरीका कारण मानिसहरूमा मानसिक तनाव, असन्तुलित जीवनशैली र असन्तुष्टि जस्ता समस्याहरु बढिरहेका छन्। यस्तो अवस्थामा आरोग्य दिवसले मानिसहरुलाईम जीवनशैलीमा पुनः मूल्यांकन गर्न प्रेरित गर्नेछ। स्वस्थ आहार, नियमित व्यायाम, ध्यान, योग र सकारात्मक सोच जस्ता अभ्यासहरूलाई जीवनमा समावेश गर्न प्रेरित गर्नु यसको मुख्य उद्देश्य हो।

नेपालको सन्दर्भमा हेर्दा, यहाँ उत्पन्न भएका धर्मशास्त्र, दर्शनहरु, ऋषि महर्शीहरुका ज्ञानविज्ञानहरुले आरोग्यको अवधारणा प्राचिनकालदेखि नै समृद्ध रहेको पुष्टि गर्दछ। यहाँ रहेका योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा जस्ता अभ्यासहरू नेपाली जीवनशैलीसँग गहिरो रूपमा जोडिएका छन्। यहाँका हिमाल, वन, नदी, शुद्ध हावा, जैविक विविधता, मौलिकता र प्राकृतिक वातावरणले नेपालको भौगोलिक संरचना प्राकृतिक आरोग्यका लागि अत्यन्त अनुकूल रहेको छ। यी सबै पक्षहरूले नेपाललाई विश्वस्तरमा आरोग्य पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सक्ने सम्भावना बोकेका छन्।

हाल विश्वमा मानिसहरू स्वास्थ्य र आन्तरिक शान्तिको खोजीमा विभिन्न देशहरूको भ्रमण गर्छन्। यस सन्दर्भमा नेपाल त्यस्तो देश, जहाँ प्राकृतिक सौन्दर्य र आध्यात्मिक परम्परा दुबै उपलब्ध छन्, जुन आरोग्य पर्यटनका लागि आदर्श स्थल बन्न सक्छ। आरोग्य पर्यटनको विकासका लागि पूर्वाधार निर्माण पनि उत्तिकै महत्वपूर्ण छ । योग केन्द्र, ध्यान शिविर, प्राकृतिक उपचार केन्द्र, आयुर्वेद अस्पताल र आध्यात्मिक आश्रमहरूको विकास र विस्तार गर्नुपर्ने आवश्यकता छ। साथै, अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधा उपलब्ध गराउँदै पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ।

प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस २०८३ साल वैशाख २ गते (अप्रिल १५) को अवसरमा नेपालले आफ्नो विशिष्ट पहिचान विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ। यस दिवसले नेपाललाई आफ्नो सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न प्रेरित गर्दछ। नेपालका लागि यो प्रतीकात्मक उपलब्धिका साथै एक रणनीतिक अवसर पनि हो। यसले स्वास्थ्यसम्बन्धी नीतिहरूलाई अझ सुदृढ बनाउन, जनचेतना अभिवृद्धि गर्न र स्वस्थ र समृद्ध जीवनशैलीलाई प्रोत्साहित गर्न थप मद्दत पुर्‍याउँछ।

नेपाल सरकारले यस अवसरलाई सदुपयोग गर्दै आरोग्यलाई विकासको केन्द्रबिन्दुमा राखेर प्रस्तुत गरेको सरकारको १०० कार्यमा ७३ औं बुँदामा आरोग्य र आरोग्य पर्यटनलाई समेटेको छ । यसले शिक्षा, स्वास्थ्य, पर्यटन र वातावरण संरक्षण जस्ता क्षेत्रहरूमा समन्वय गर्दै आरोग्य केन्द्रित नीतिहरू निर्माण तथा विकास गर्न सरकार पनि जिम्मेवार रहेको पुष्टि हुन्छ। विद्यालयदेखि विश्वविद्यालयसम्म आरोग्य शिक्षा समावेश गरिनु आवश्यक छ, जसले नयाँ पुस्तालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नेछ।

यसका लागि स्थानीय समुदायको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ। परम्परागत ज्ञान, औषधीय वनस्पति, योग अभ्यास र सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहमा पहल गर्नुपर्छ। यसले आरोग्य प्रवर्द्धनका साथै आर्थिक विकासमा पनि योगदान दिन सक्छ। यसका साथै, व्यक्तिगत स्तरमा पनि आरोग्यप्रति सचेत हुन आवश्यक छ। नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, सकारात्मक सोच, ध्यान र योगजस्ता अभ्यासहरूलाई दैनिक जीवनमा समावेश गर्नुपर्छ। प्रविधिको सही प्रयोग, सामाजिक सम्बन्धहरूको सुदृढीकरण र मानसिक स्वास्थ्यप्रति ध्यान दिनु पनि आजको आवश्यकता हो।

अन्त्यमा, “नेपाल र प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस” केवल एक औपचारिक उत्सव मात्र होइन, यो एक आन्दोलन हो—स्वस्थ जीवनशैलीको, समग्र स्वास्थ्यको र मानव कल्याणको र राष्ट्रलाई समृद्धितर्फ लैजाने। आरोग्यको समग्र अवधारणालाई आत्मसात् गर्दै नेपालले विश्वलाई स्वास्थ्य, शान्ति र आनन्दको मार्ग देखाउन सक्छ। यही नै यस दिवसको सार्थकता हो।

यसैले, आजको आवश्यकता भनेको आरोग्यलाई व्यक्तिगत अभ्यासबाट राष्ट्रिय अभियानमा रूपान्तरण गर्नु हो। जब प्रत्येक नागरिक शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ हुन्छ, तब मात्र राष्ट्र सुदृढ र समृद्ध बन्न सक्छ। अन्तर्राष्ट्रिय आरोग्य दिवसले यही सन्देश दिन्छ—“स्वस्थ व्यक्ति, स्वस्थ समाज र स्वस्थ विश्व”।

त्रि वि केन्द्रीय पुस्तकालयको पुस्तकालय अधिकृत भट्टराई जीवन विज्ञान प्रतिष्ठानको प्रशिक्षक समेत हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।

प्रकाशित मिति : 06:05