१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण

१ वैशाख, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् ।बस्तीदेखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकारी निकायबाट प्राप्त अनुदान र श्रमदानको अलावा मेलाबाट भएको आम्दानीलाई पनि परिचालन गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लबको साझेदारीमा दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष विकास पुनले चार किलोमिटर ४०६ मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको र रु एक लाख २४ हजार बराबरको श्रमदान भएको उहाँले बताउनुभयो ।

“दोवामा पर्यटक भित्र्याउने र बसाई लम्बाइ ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, अध्यक्ष पुनले भन्नुभयो, “ सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”

पुनका अनुसार दोवाका २३ जना स्थानीयवासी करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । बस्तीदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । बडादशैँको अवसरमा मणिबाराही युवा क्लबले आयोजना गरेको मेलाबाट भएको आम्दानी पदमार्ग निर्माणमा सहयोग गरेको हो ।

पदमार्ग अनुगमनमा जानुभएकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भौगोलिक रुपमा विकट र दुर्गम ठाउँमा सरकारले विनियोजन गरेको बजेटमा स्थानीय युवा क्लबबाट रकम थपेर उपभोक्ता समितिले काम गरेकामा प्रशंसा गर्नुभयो ।

परापूर्वकालमा दोवावासीले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रुपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।

बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तीहरुबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

मगर समुदायको बाहुल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । उच्च पहाडी क्षेत्रमा गुराँसे जङ्गल, पहाडी भूगोल, हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । दोवादेखि आइसफल हुँदै मुस्ताङ पदमार्गले जोड्ने जनप्रतिनिधिको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 09:14