४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

https://www.muktinathbank.com.np/online/loan-application

२९ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताउनुभयो ।

घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “जनताले दिएको मतको सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ ।”

युवा विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ ।”

मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले आगामी सङ्घीय सरकारलाई शुभकामना दिँदै पाँच वर्ष स्थिर रूपमा काम गर्न आग्रह गर्नुभयो । कैलाली क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित सांसद जगत जोशीले शिक्षामा परिवर्तन नगरी समाज परिवर्तन सम्भव नहुने भन्दै मुलुकमा नैतिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावतले तीनै तहका सरकारबीच समन्वय भए घोडाघोडीको विकास सम्भव हुने र यस क्षेत्रलाई शिक्षाको केन्द्र बनाउनु सकिने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले शिक्षाको सुधारका लागि आयोग सधैं साथमा रहने बताउनुभयो ।

घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण न्युरेले प्रदेश सरकारको सहयोगले शिक्षाको विकासमा ठूलो टेवा पुगेको बताउनुभयो । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउँदै थप सहयोगको अपेक्षासहित धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष विष्णु सापकोटाले प्राविधिक शिक्षालाई जोड दिँदै नमुना सामुदायिक विद्यालयको नीति लिएर अघि बढ्ने बताउनुभयो ।

प्रदेश सरकारको करिब रु १० करोड बजेटमा निर्माण हुन लागेको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको भवन तीन चरणमा निर्माण सम्पन्न गरिने बताइएको छ ।

प्रकाशित मिति : March 13, 2026 at 4:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/