हजारौँको भिडमा ‘काइँला बा’को एकल यात्रा
-शम्भु गजुरेल ” कुनाघरे काइँलो”
म समय ! मेरो नजरले देखेको एउटा सानो परिघटना प्रस्तुत गर्दैछु— ‘काइँला बाको यात्रा’।
काइँला बा त्यस्ता एमाले, जो आफ्नै दलका नराम्रा कामको निर्मम आलोचना गर्छन् । त्यसैले त उनी लामो समयदेखि कुनै पनि कमिटी वा जिम्मेवारीमा छैनन् । ५३ वर्षको मान्छे, जोसँग नेपाली नागरिकता त छ तर राहदानी (पासपोर्ट) सम्म छैन; के उसले “नेता मेरा भगवान् हुन्” भन्दै चाकडी गरेर नेताहरूको निगाह र स्याबासीको इच्छा राख्ला र ?
राजनीतिक यात्राकाक्रममा कच्चा उमेरमा कतै कसैका दुई-चार फाँक मकै खाए होला, त्यो बाहेक उनको पेटमा कुनै लेस छैन । आफ्नै चेतनाले ‘समाज सुधारतर्फ लाग्नुपर्छ’ भन्ने आदेश दिएपछि उनले हरदम प्रयत्न गर्दै आए । स्मृतिका पानाहरू नियाल्दा उनी श्रमदान, गोरेटो सुधार, सामुदायिक वन संरक्षण, विद्यालय निर्माण र जातीय विभेदविरुद्धको संघर्षमा सधैँ सरिक भएको विगत छ । वैचारिक रूपमा उनी सधैँ सर्वहारा अर्थात् किनारामा पारिएका मानिसहरूको जीवन सहज हुने मार्गको खोजी र बहसमा जुटे। आफ्ना सहयात्रीहरूमध्येका सीमित पात्रहरूको विलासिता र मोहविरुद्ध आवाज उठाउँदा उनी जहिल्यै किनारामा धकेलिइरहे।

प्रत्येक दिन नयाँ बाटो समात्नु ‘अवसरवाद’ हो भन्ने उनको मान्यता छ। आलोचनात्मक चेत बोक्नु उनको आत्मसम्मान हो, तर तात्कालिक मुनाफा प्राप्तिको यात्रामा यो एउटा अवरोध हो भन्ने कुरा उनले नबुझेका पनि होइनन्। वास्तवमा, उनीसँग समविचार राख्नेहरूको समूह ठुलो भए तापनि आलोचनाको तुणिरभित्रका तीरले आफ्नै समूहभित्र समेत निरन्तर प्रहार गर्ने उनको स्वभावले गर्दा उनी हजारौँको भिडमा पनि एक्लै छन्। अन्य विचारधाराका जमातले त दलीय पहिचानका आधारमा उनलाई तुच्छ उपनाम दिनु अनौठो कुरा भएन।
यो लामो यात्राको उत्तरार्धसम्म आइपुग्दा वर्तमान समयमा देखिएका प्रवृत्तिहरू निकै खतरनाक छन्। अहिले सडकभन्दा ‘सञ्जाल’ (Social Media) को कुनाबाट भावना मात्र उरालेर उन्मत्त जमातद्वारा जीवन जलाउने समय छ। यहाँ मानिसभित्रको मानवीय संवेदना निमिट्यान्न भएको छ। व्यक्तिलाई देउता, बा वा भगवानको उपमा दिएर देवत्वकरण गर्ने चलन चरम उत्कर्षमा पुगेको छ। जताततै ‘म यो गर्छु’, ‘म त्यो गर्छु’— अर्थात् केवल ‘म, म र म’। ‘म-वाद’ को यो गाइजात्रामा “देख्लास् र पख्लास्” जस्ता उत्तेजनाले संसार जलिरहेको छ।
समग्रमा भन्नुपर्दा, जिम्मेवारीविहीन व्यक्ति ‘समर्थक मतदाता’ बाहेक केही हुन सक्दैन। अख्तियारी बिनाको वकिलको कुनै औचित्य रहँदैन। विचारको प्रचार गर्नु वैचारिक समर्पण हो, तर पक्षधरता भनेको समूहमा समाहित हुने समर्पण हो। जिम्मेवारी नभएको व्यक्तिले आफ्नो नोक्सानी स्वयं सहनुबाहेक केही हुँदैन भन्ने प्रस्ट थाहा हुँदाहुँदै पनि एक्लो योद्धा भएर लडाइँमा होमिइरहनु ‘मूर्खता’ हो भन्ने निष्कर्षमा अब काइँला बा पुगेका छन्।
आफ्ना धारणाका कारण स्वदलीय कार्यकर्ता (नेतृत्वका कर्मचारी) का नजरमा समेत सधैँ परचक्री व्यवहार खेपेका उनी, अब अन्य दलीय आक्रमणको जोखिम उठाउन पनि अनिच्छुक बनेका छन्। काइँला बाको कलमबाट अब कस्ता शब्दहरू उम्रनेछन्, त्यो त भविष्यले नै देखाउनेछ। म ती अक्षरका बान्कीहरू पछि तपाईंहरूसमक्ष ल्याउने नै छु। – समय
प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १०:०४












