२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

महिला टि-२० विश्वकपः क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

१८ मंसिर, काठमाडौँ । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो ।

उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका क्यानले जनाएको छ ।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरू गर्नेछ । बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टि-२० विश्वकपमा छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका छन् ।

प्रकाशित मिति : December 4, 2025 at 12:18 pm