२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटका लागि शाहीन अफ्रिदी कप्तान नियुक्त

४ कात्तिक, पाकिस्तान  । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आगामी महिना हुने तीन खेलको एकदिवसीय शृङ्खलाका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको छ ।

बाबर आजमको राजीनामापछि गत अक्टोबरमा मोहम्मद रिजवानले एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इस्लामावादमा भएको बैठकपछि शाहीनलाई नियुक्त गरेको जनाएको छ ।

पिसिबी ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानका मुख्य प्रशिक्षक माइक हेसनको उपस्थितिमा छनोट समितिले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय टोलीको कप्तानी शाहीनले गर्ने निर्णय गरेको हो ।”

तीन खेलको एकदिवसीय श्रङ्खला नोभेम्बर ४, ६ र ८ मा फैसलाबादमा हुनेछ । सन् २०२४ नोभेम्बरमा अस्ट्रेलियामा पाकिस्तानले २२ वर्षमा पहिलो शृंखला जितेर रिजवानले एकदिवसीय कप्तानको रूपमा राम्रो सुरुवात गर्नुभएको थियो ।

त्यसपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो भने जिम्बावेमाथि २–१ को जित निकालेको थियो । यसै वर्ष पाकिस्तान घरेलु त्रिकोणात्मक सिरिजको फाइनलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने फेब्रुअरीमा भएको च्याम्पियन्स ट्रफीको पहिलो चरणबाटै बाहिरिएको थियो ।

रिजवानको सबैभन्दा खराब स्थिति वेस्ट इन्डिजमा देखिएको थियो जहाँ पाकिस्तानले २–१ ले हार बेहोरेको थियो । यो पाकिस्तानले ३४ वर्षपछि क्यारेबियन राष्ट्रसँग पहिलो श्रङ्खला गुमाएको थियो।

शाहीनले यसअघि गत वर्ष जनवरीमा न्युजिल्यान्डमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय पाँच खेलमा पाकिस्तानको कप्तानी गर्नुभएको थियो तर न्यूजिल्याण्डसँग ४–१ ले पराजित भएपछि उहाँ टोलीबाट विदा हुनुभएको थियो ।

प्रकाशित मिति : October 21, 2025 at 3:48 pm