३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

यी हुन बाढी र पहिरोका कारण आवतजावत बन्द भएका सडक

१९ असोज, काठमाडाैँ । निरन्तरको वर्षासँगै बाढी र पहिरोले देशका विभिन्न भागका राजमार्ग र सडक अबरूद्ध भएका छन। प्रहरी र सशस्त्र प्रहरीले संकलन गरेको विवरण अनुसार अहिलेसम्म अवरूद्ध रहेका सडकहरू यस प्रकार रहेका छन ।

१. भक्तपुर जिल्ला — सूर्यविनायक नगरपालिका–९ साँगास्थित झोलुङ्गेपुल नजिक पहिरो खसेकाले आवागमन बन्द भएको छ।

२. काठमाडौं जिल्ला — सीतापाइला–धार्के सडकखण्ड अन्तर्गत नागार्जुन नगरपालिका–८ ठुलो खोलामा पहिरोका कारण सवारी आवागमन रोकिएको छ।

३. ललितपुर जिल्ला — कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ टाकुचे र टिकाभैरव क्षेत्रमा पहिरो खसेकाले आवतजावत अवरुद्ध भएको छ।

४. धादिङ जिल्ला — पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट गाउँपालिका–९ लोलाङमा खसेको पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ।

५. चितवन जिल्ला — नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक पहिरो खसेकाले सवारी सञ्चालन अवरुद्ध छ।

६. मकवानपुर जिल्ला — इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्डमा पर्ने डोडारे खोलामा बाढीका कारण सडक अवरुद्ध भएको छ। साथै, हुमाने–फाखेल सडकखण्ड पनि विभिन्न स्थानमा पहिरोका कारण बन्द छ।

७. काभ्रेपलाञ्चोक जिल्ला — वि.पी. राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुंगामा, साथै मंगलटार खोलामा गएको बाढी र पहिरोका कारण सवारी सञ्चालन अवरुद्ध छ।

dainiki.com

८. हेटौडा–भैसे–नौबिसे सडकखण्ड — अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेकाले सडक पूर्णरूपमा बन्द छ।

९. सिन्धुपाल्चोक जिल्ला — अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिनुका साथै धुलिखेल–खावा र ५४ किलोमा खसेका पहिरोका कारण आवागमन बन्द छ।

१०. इलाम जिल्ला — मेची करिडोर अन्तर्गत इलाम नगरपालिका–११ बेलासेमा माइखोला पुल क्षतिग्रस्त भएकाले सवारी आवागमन अवरुद्ध छ।

११. संखुवासभा जिल्ला — कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेका पहिरोका कारण आज पनि सवारी सञ्चालन हुन सकेको छैन।

१२. रसुवा जिल्ला — पासाङ ल्हामु राजमार्ग अन्तर्गत गोसाइकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीमा पहिरोका कारण सवारी सञ्चालन बन्द छ। साथै, सोही गाउँपालिकाको रसुवागढीस्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुऱ्याएकाले हालसम्म आवागमन अवरुद्ध रहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १२:४६