अनेरास्ववियु अध्यक्ष कडरियाको तस्वीर र नेम प्लेट जलाइयो
२८ भदौ, काठमाडौं। अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाविरुद्ध असन्तुष्ट पक्षले आक्रोश प्रकट गर्दै उनको कार्यालयमा राखिएको तस्वीर र नेम प्लेट जलाइदिएका छन्।
कडरिया नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष हुन्। उनी २०८२ साल जेठ ३० गते भएको अधिवेशनमार्फत अध्यक्षमा निर्वाचित भएका थिए।

हालै ‘जेनजी’ आन्दोलनमा भएको सरकारी दमनप्रति असहमति जनाउँदै कडरियाले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। साथै एमालेसमेत परित्याग गरेको घोषणा गरेका थिए। तर, दुई दिनपछि उनले दबाबका कारण राजीनामा दिएको भन्दै आफ्नो घोषणा फिर्ता लिई पुनः पार्टीको काममा सक्रिय भएको बताए।
यही निर्णयका कारण विवाद चुलिँदै जाँदा कडरिया कार्यालय फर्किन खोजेका बेला असन्तुष्ट पक्षले विरोध प्रदर्शन गर्दै उनको तस्वीर र नेम प्लेट जलाएको हो।
प्रकाशित मिति : September 13, 2025 at 3:01 pm









