फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान
१६ भदौ, काठमाडौं । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित आगामी असोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक सभा बोलाएको छ ।
भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन सभा दिनको १ बजेदेखि बाेलाएकाे हाे । सभामा सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने तथा आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, पूँजी वृद्धिपश्चात हकप्रद सेयर जारी गर्ने तथा हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,आव २०८१/८२ को वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
प्रकाशित मिति : 09:40









