७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

१५ अर्ब ६६ करोड लागतमा मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

१२ भदौ, सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ ।

पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने बताइएको छ ।आयोजनाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइरालाले भन्नुभयो, “यो संरचना निर्माणपछि पूर्वपश्चिम तर्फ सवारीसाधन ओभरपासबाटै गुड्नेछन् भने उत्तर—दक्षिण तर्फका सवारीसाधन मुनिबाट क्रस हुने व्यवस्था मिलाइनेछ ।”

सोही योजनाअन्तर्गत लहान चोकमासमेत अर्को ओभरपास निर्माण सुरु भइसकेको छ । विद्युत् पोल नसरिएकाले त्यहाँ केही प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डमा हालसम्म ६६.५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।

प्रकाशित मिति : August 28, 2025 at 4:29 pm