२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

विद्यादेवी भण्डारीबाहेक एमालेमा मलाई चुनौति दिने कोही छैनः अध्यक्ष ओली

११ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विद्यादेवी भण्डारी बाहेक कसैले चुनौति दिन नसक्ने बताउनुभएको छ । पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा भेला गरेर प्रधानमन्त्री ओलीले एमालेमा विद्यादेवी भण्डारीबाहेक कसैले पनि चुनौति दिन नसक्ने बताएको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

ओलीले विधान महाधिवेशनमा कसैले चुनौति दिए उनीहरूको हिसाब किताब महाधिवेशनमा हुने चेतावनी समेत दिनुभएको छ । ओलीले बैठकमा बोलेको कुरा उधृत गर्दै निरौलाले फेसबुक मार्फत जानकारी दिनुभएको छ, ‘अहिले विद्याबाहेक अरू कसैको दम छैन, उहाँले अहिले छोडे सबै मिल्छ ।’

ओलीले बैठकमा बोलेका कुरा निरौलाले ४८ बुँदामा यसरी शुत्रवद्ध गर्नुभएको छ ।

  1. पार्टीलाई दुई-तिहाइ बहुमत आउँदै थियो तर वामदेवले २०५४ सालमा एमाले फुटाउनुभयो। ।
  2. एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ र हालको पार्टी बनेको हो।
  3. अहिले केहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर धन्दा गर्छन्।
  4. च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।
  5. बालुवाटार बोलाएको आउनुभएन, पार्टी कार्यालयमा च्यासलमै भेटियो।
  6. सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।
  7. राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।
  8. उहाँले ‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न’ भन्नुभयो।
  9. तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ।
  10. चुनाव लड्ने त भन्नुभयो, ‘यहाँ हाम्रो पार्टीमा चुनाव लड्नु पर्दैन’ भनेँ।
  11. पूर्वराष्ट्रपति भएकाले अशोभनीय गतिविधि गर्नु भएन।
  12. पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ।
  13. चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भयो।
  14. मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो । त्यसबेला जन्मजयन्ती र स्मृति दिवस पनि मनाउन नदिएकोले फाउन्डेशन खोलेँ ।
  15. अरूले राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारेँ।
  16. उहाँले नेकपा एमालेमा आएर अध्यक्ष हुनु सम्भव छैन।
  17. आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
  18. आन्दोलनलाई पार्टीले अघि बढाएको छ तर यो नदेख्ने र विरोधीलाई सहयोग गर्ने काम भएको छ।
  19. सरकारले गरेका सकारात्मक कामको चर्चा भएन।
  20. अदालतमार्फत् बाधा हाल्ने प्रयास गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ।
  21. सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन।
  22. जबज कुनै परिवारको सम्पत्ति होइन।
  23. जबज फाउन्डेशनले बचाउने पनि होइन।
  24. जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन।
  25. ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।
  26. अभागीलाई खाने बेलामा रिस उठ्छ।
  27. विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
  28. विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।
  29. पत्रकारले पार्टी सदस्यता दिने होइन।
  30. गणतन्त्र गौरवलाई विवादमा पार्ने काम भयो।
  31. विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ।
  32. लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन।
  33. मैले जति सम्मान अरुले गरेका छैनन्, विद्याजीलाई साथ दिँदा म अपमानित हुनुपरेको छ।
  34. म एक्लो थिइनँ,  मदन र म सहकार्यमा थियौँ।
  35. म सपनामा छु कि जस्तो लाग्छ।
  36. विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।
  37. विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ।
  38. व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ।
  39. विद्या भण्डारी सम्पत्ति होइन।
  40. उहाँको लडाइँ सदस्यताको होइन।
  41. प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन हुँदैन।
  42. सही विचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यही पेश गर्छु। यो इतिहास हो। इतिहासको रूपमा आउँछ, नीति रूपमा आउँछ।
  43. विधान महाधिवेशन तीन दिन  हुन्छ । एक दिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ।
  44. विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।
  45. साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन।
  46. रवि लामिछानेलाई मैले नै बनाएको हो ।
  47. राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हैँ ।
  48. राष्ट्रियताबारेमा हामी राजनीति गर्दैनौँ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २३:२४