२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कार्यक्रमबारे जानकारी दिएको हो।

प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण गर्ने कार्यक्रम छ। ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लाग्नुभएकाे हाे ।

उहाँले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चीनफिङ र उपराष्ट्रपति हान झेङलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सो अवसरमा प्रधानमन्त्रीले केही देशका नेताहरूसँग भेटवार्तासमेत गर्ने तयारी गर्नुभएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमालेका सांसद छविलाल विश्वकर्मालगायत भ्रमण टोलीमा रहनुहुने छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १७:४७