२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

‘मधेशमा देखिएको सुक्खा समस्यालाई हल गर्न काम सुरुआत भइसकेको छ ’

५ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवाका अवस्था बारेमा जनकपुरमा जानकारी लिनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा आज आयोजित कार्यक्रममा उहाँहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश गर्नुभयो ।

सो अवसरमा मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशका तुलनामा उच्च रहेको हुँदा यसलाई तत्काल समाधान गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“ यस प्रदेशमा विभिन्न स्थानमा अझै पनि पटक–पटक बिजुली कटौती हुने जनगुनासो छ । २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ । विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ । यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ ।”

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न सकिने हुँदा यसमा विभागले उच्च प्राथमिताका साथ ध्यान दिएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव, विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : August 21, 2025 at 4:11 pm