२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : महासचिव पोखरेल

५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक सङगठन, नेपालको आयोजनामा “भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान गर्ने काम गरिरहेको बताउनुभयो ।

“भूमिसम्बन्धी समस्या अहिले राखेर पछि गरौँला भन्ने पक्षमा सरकार छैन । पछि पनि भूमिको समस्या भइरहन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ ।” महासचिव पोखरेलले एमाले पार्टीले भूमिमा देखिएका समस्या समाधान गर्ने कुरामा पूर्ण सहयोग रहेको बताउनुभयो । उहाँले भूमिहीन उपेक्षित वर्गलाई अधिकार दिन कुनै राजनीतिक दलले हिचकिचाउन नहुने बताउनुभयो । उहाँले भूमि सुकुम्वासीलाई भूमिको अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले भूमि आयोगलाई काम गर्ने वातावरण बनाइदिएर अहिले भूमिको समस्या समाधान गर्न आग्रह गर्नुभयो । “अहिले सबैभन्दा उपयुक्त समय रहेको छ । भूमि आयोगलाई काम गर्ने सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलको हो” उहाँले भन्नुभयो ।

कार्यक्रममा श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनु पर्नेबताउनुभयो । श्रमिक सङगठनका महासचिब उमेस आचार्यले भूमि आयोगबाट भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ०८:२८