१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिन्छुः मन्त्री लामा

३ भदौ, रसुवा ।  बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला आउनुभएका नेता लामाले शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका हिसाबले पछि परेका रसुवाली जनताको भावना र चाहनाबमोजिम सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनतालाई केन्द्रमा राखेर तयार गरिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई विकास निर्माणसहित आमजनताको जीवनस्तर सुधार गर्नेतर्फ जिल्लावासी एक हुनुपर्नेमा जोड दिनुभयो । रसुवा जिल्लाबाट बाग्मती प्रदेशसभामा दोस्रो कार्यकालका लागि प्रतिनिधित्व गर्नुहुने नवनियुक्त मन्त्री लामालाई जिल्ला प्रवेश गरेसँगै वेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसीलगायत विभिन्न स्थानमा रसुवावासीले स्वागत तथा सम्मान गर्दै विभिन्न विकास योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन माग गर्नुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङका अनुसार स्थानीय जनताले सडक मर्मत तथा सुधार गर्न, निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालय भवन चाँडोे सक्न, गोसाइँकुण्ड धार्मिक मार्गको मर्मतसम्भारसहित सुधार गर्न, कृषि र स्वास्थ्य, पाठशाला स्थापना गर्न, स्याउ चिस्यान केन्द्र भवन निर्माण गरिदिन मन्त्री लामासँग अनुरोध गर्नुभएको थियो ।

यसैगरी, धार्मिक, सांस्कृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीयस्थलका रुपमा परिचित रसुवा जिल्लास्थित विभिन्न स्थानका पैदलमार्गको गोरेटो–घोडेटो बाटो निर्माण गर्न, गोसाइँकुण्डमा आवश्यक पूर्वाधार निर्माण गर्न र जनताको दैनिक जनजीवनसँग सरोकार राख्ने माग मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश अर्थमन्त्रीको भूमिकामा रहनुभएका मन्त्री लामासँग जिल्लावासीका तर्फबाट अनुरोध गरिएको कांग्रेस सभापति तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 19, 2025 at 12:33 pm