१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइने

२० साउन, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्न म विभागलाई निर्देशन दिन्छु ।”

खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरुमध्येमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको स्पष्ट निर्देशन, मन्त्रालयसहित विभागका कर्मचारीहरुको सहयोगमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको छ । आगामी दिन थप प्रगति गर्नेछौँ ।”

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठले विभागले गत आवमा हासिल गरेको प्रगति प्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा विभागीय निर्देशक, प्राविधिक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : August 5, 2025 at 4:45 pm