भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष श्रेष्ठले छाडिन् एकीकृत समाजवादी
२० साउन, काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गर्नुभएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताउनुभएको हो ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भन्नुभएकाे छ, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले पार्टीको साधारण सदस्य पनि नरहने गरे पार्टी परित्याग गरेकको जानकारी गराउँछु ।’
कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएकाे थियाे । २०७८ को पार्टी विभाजनमा उहाँले नेकपा एसमा सनाखत गर्नुभएकाे थियाे । परिवारका सदस्य शान्ता श्रेष्ठ, मुना श्रेष्ठ, सीतादेवी श्रेष्ठ, लक्ष्मीभक्त श्रेष्ठ, सनिस श्रेष्ठ, विवेश श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र रामगोपाल श्रेष्ठले पनि आफूसँगै पार्टी परित्याग गरेको उहाँले बताउनुभएकाे छ ।
प्रकाशित मिति : 14:54









