तरिका र शैली बदलिएला देशकै लागि थिएँ, छु र रहिरहनेछुः दुर्गा प्रसाई
२० साउन, काठमाडौँ । राजा ज्ञानेन्द्रको सत्तारोहणको लालचामा सडकमा दुरूपयोग हुन पुग्नुभएको मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब अराजक ढंगले प्रस्तुत नहुने संकेत गर्नुभएको छ । माओवादी र एमालेले दुरूपयोग गरेपछि राजावादीको दुरूपयोगमा परेर कारागार नै पुगेर धरौटीमा छुटेपछि प्रसाईले तरिका र शैली बदलिएला देशकै लागि थिएँ, छु र रहिरहनेछु भन्दै सामाजिक सञ्जाल मार्फत सहयोगीमा आभार प्रकट गर्नुभएको छ ।
हार्दिक आभार !
सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु ।
जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनी म अदालतको आादेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनी देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु ।
य मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागी सारा नेपाल मेरो घर हो,कारागार पनी मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।
म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !
प्रकाशित मिति : 07:54









