सुवेदीलाई आइएनएनएफको सम्मान
१९ साउन, काठमाडौं । चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले बधाई तथा शुभकामना प्रदान गरेको छ। अनामनगरको डालो रेष्टुरेन्टमा भेला भएर आइएनएनएफका सदस्यहरूले सुवेदीलाई सामूहिक रूपमा बधाई ज्ञापन गरेका हुन ।
विगत २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय सुवेदीलाई गत शुक्रबार सूचना, संचार तथा प्रविधि मन्त्रालयले बोर्ड सदस्यमा नियुक्त गरेको थियो । सो अवसरमा आइएनएनएफका तर्फबाट अध्यक्ष लव प्याकुरेलले सुवेदीले नेपाली चलचित्रलाई थप सशक्त र विकसित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको नेपाली सिनेमाको औचित्यमाथि प्रश्न उठिरहेको सन्दर्भमा सुवेदीको नियुक्तिले उद्योगलाई नयाँ ऊर्जा दिने बताउनुभयो ।

नवनियुक्त सदस्य सुवेदीले व्यवस्थापिकाबाट ऐन निर्माण हुँदै गर्दा आमचलचित्रकर्मीलाई अटाउने स्पष्ट परिभाषा आवश्यक रहेको भन्दै यसको लागि चलचित्र विकास बोर्डले थप तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष मानबहादुर थापा, लेखक भीष्म राज फुलारा, निर्माता मधु अधिकारी, प्राविधिक अच्युत बजगाईं, संगीतकार राजेन्द्र बजगाईंलगायत चलचित्रकर्मीहरू सहभागी रहनुभएको थियो ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:३३












