३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मधेसमा स्वास्थ्य बिमा गराउनेको संख्या ७ लाख ५० हजार नाघ्यो

१९ साउन, धनुषाधाम । मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । यससँगै प्रदेशमा बिमा गराउनेको सङ्ख्या करिब १३ प्रतिशत पुगेको छ ।

मधेस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उहाँले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई निःशुल्क बिमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखले केही सहिद परिवारलाई बिमामा आबद्ध गरिएको उहाँले बताउनुभयो । सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइँसराइ गरेर गएकाले पूर्णरूपमा सहिद परिवारलाई बिमामा समावेश गर्न कठिन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बिमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप रु एक लाखको बिमा सीमा थप गरिएको छ ।

नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ । मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो ।

बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 4, 2025 at 9:58 am