बागमती प्रदेश प्रमुख अस्वस्थः नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
१५ साउन, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएकाे शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि अनिश्चितकालका लागि स्थगित भएकाे हो ।
प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताउनुभयाे ।
सापकोटाले विज्ञप्तिमा लेख्नुभएकाे छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

प्रकाशित मिति : 10:26









