१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१२ साउन, काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोेस् । सरकार समन्वय गर्न तयार छ । निजी क्षेत्र अघि बढ्यो भने मात्रै परिणाम आउन सक्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ ।” मन्त्री पाण्डेले २०७२ सालमा संविधान जारी भएसँगै सोही अनुरुप सङ्घीयता कार्यान्वयन गर्नका लागि मन्त्रालय नीतिगत रुपमा अघि बढेको बताउनुभयो ।

संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताउनुभयो । विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रुपमा राखेको उहाँले बताउनुभयो । मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुनेगरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : July 28, 2025 at 4:17 pm