८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नक्कली सुन देखाएर साढे २१ लाख ठगी गर्ने नुवाकोटका सुमनसहित दुई जना पक्राउ

११ साउन, काठमाडौं । नक्कली सुन देखाएर साढे २१ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। नक्कली सुन देखाई प्रतितोला १ लाख १० हजार रुपैयाँमा दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोटको मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने वर्ष २२ को सुमन तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ८ बोडे बस्ने वर्ष २८ को बुद्धी बहादुर तामाङ रहेका छन्।

उनीहरूले २०८१ फागुन २५ गते ओखलढुङगा चम्पादेवी गाउँपालिका–७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ बस्ने ढक बहादुर बुढाथोकीलाई इबामोरा चोक नजिक बोलाई १२ लाख र गत जेठ २७ गते दोलखाको भिमेश्वर नगरपालिका–५ घर भई हाल भक्तपुर राधे राधे बस्ने अर्जुन बस्नेतलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रुपैयाँ लिई फरार भएका थिए।

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न बुद्धि बहादुर र सुमनलाई उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट विभिन्न कम्पनीको चारवटा मोबाइल र सुन जस्तो देखिने एकथान पहेँलो धातु एक केजी पनि बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको  प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : July 27, 2025 at 6:08 pm