कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो
९ साउन, काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपका लागि सहमति जनाएको हो ।
सभामुख देवराज घिमिरेले समितिबाट सात दिनको कार्यावधि थप गर्नका लागि माग भई आएको बताउनुभयो । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि गत असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । उक्त विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउदा अवकाश प्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा अध्ययन तथा छानबिनको लागि उक्त विशेष समिति गठन भएको थियो ।
प्रकाशित मिति : 15:20









