विद्यालाई एमालेमा सक्रिय हुन संविधान र विधानले रोकेको छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल
७ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति समेत रहनुभएको पार्टी नेता विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय हुन संविधान र विधानले नरोकेको बताउनुभएको छ । बुधबार साँझ बीबीसीको बिनिता दाहालसँगको कुराकानीमा उहाँले केन्द्रीय कमिटी बैठकमा फरक मत राख्ने अवस्था समेत नबनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्यो । पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्यो नि !’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता भण्डारीको सदस्यता ‘कु’को घोषणा गरे लगत्तै उहाँको सचिवालये मध्यरातमै पार्टीको वेबसाइटबाट नाम हटाएको पाइएको छ । सो विषयमा समेत बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको आफूले पनि सुनेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘२०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको उहाँले बताउनुभयो । ‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उहाँले भन्नुभयो, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’
प्रकाशित मिति : 23:13









