एमालेको केन्द्रीय नेतृत्वको चरित्र ओलीको व्यक्तिपूजामा रमाउने दरबारी संरचनासँग मेल खायोः प्राध्यापक थापा
७ साउन, काठमाडाैँ । राजनीति शास्त्रका प्राध्यापक डा गंगाबहादुर थापाले नेकपा (एमाले)को पछिल्लो गतिबिधिका बारेमा छोटो टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत प्राध्यापक थाापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले डर र हतारोले गरिएको प्रतिक्रिया आफैंमा विद्यादेवी भण्डारीको बाँकी प्रभावको सूचक रहेको बताउनुभएको छ ।
नेपालको बापपन्थी राजनीति निकै नजिकबाट नियाल्नुभएको थापाले विद्याबाटै लात खाएर धुलो चाट्नुपर्ला भन्ने त्रास नभएको भए, यस्तो छरितो र निषेधात्मक निर्णय ल्याइन्थ्यो र ? भन्ने प्रश्न समेत गर्नुभएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ,
खड्ग प्रसाद ओलीका उपासकहरूले भरिएको एमाले केन्द्रीय समितिले हालै एउटा अनौठो निर्णय गरेको छ — बिद्या भण्डारीलाई फेरि पार्टीमा फर्कन नदिने घोषणा। तर बिडम्बना, यस्ता निर्णयहरू संगठनको नीति र प्रक्रियागत पारदर्शिताभन्दा पनि सत्ताका केन्द्रमा भएका असुरक्षाहरूबाट नै प्रेरित देखिन्छन्।

पछिल्लो समय एमालेको केन्द्रीय नेतृत्वको चरित्र ओलीको व्यक्तिपूजामा रमाउने दरबारी संरचनासँग मेल खान थालिसकेको छ। निर्णय प्रक्रियामा दलीय अनुशासन र आन्तरिक लोकतन्त्रभन्दा बढी व्यक्तिगत त्रास र अपमानको डरको गन्ध आउँछ — जस्तो कि बिद्या भण्डारी पार्टीमा फर्किए ओलीका लागि गम्भीर राजनीतिक अपमानको कारण बन्न सक्ने भयले यति छिटो र हतारोमा प्रतिवन्ध लगाइएको हो।
अब प्रश्न उठ्छ : के एमाले अझै पनि विचारधारा, संगठन र लोकतान्त्रिक प्रक्रियामा आधारित पार्टी हो त ? कि केवल व्यक्तिविशेषको अहं र सत्तालोलुपता जोगाउने यन्त्र मात्र ? बिद्या भण्डारीको पुनरागमनले नेपालको राजनीति तुरुन्तै सुध्रिन्छ भन्नेमा कसैले ठूलो आशा राख्दैन होला, तर यति डर र हतारोले गरिएको प्रतिक्रिया आफैंमा बिद्याको बाँकी प्रभावको सूचक हो।
‘सिंह’को उपमा लिएर आफूलाई ठूलो देखाउन रुचाउने ओलीको सिंहत्व यत्तिकैमा प्रश्नचिन्हमा परेको छ — बिद्याबाटै लात खाएर धुलो चाट्नुपर्ला भन्ने त्रास नभएको भए, यस्तो छरितो र निषेधात्मक निर्णय ल्याइन्थ्यो र ? अहिलेको रणनीति हेर्दा सिंहको गर्जनभन्दा बढी बिल्लीको भय र फुत्किने डरमै एमालेको राजनीति चलिरहेको देखिन्छ।

प्रकाशित मिति : 21:42









