केपीको ‘कु’ लाई उषाकिरणको धन्यवाद
७ साउन, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा (एमाले)को निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी समेत रहनुभएको मदन भण्डारी फाउण्डेसनको अध्यक्ष उषाकिरण भण्डारीले टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गर्नुभएको छ । गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता विद्यादेवी भण्डारीको पार्टी सदस्यता ‘कु’ गर्ने घोषणा गरेपछि बुधबार बिहान प्रतिक्रिया दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन’ उहाँले लेख्नुभएको छ, ‘म खुशी छु कि यो खुला रुपमा बाहिर आयो ।’ एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो ।

उहाँले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको आरोप समेत लगाउनुभएको छ । ‘तपाईहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नु भएको देखेर म छक्क परें,’ भण्डारीले लेख्नुभएको छ, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनु भएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुबैबाट म चाहिँ अच्चमित छैन ।’
उहाँले पुष्पलालको परिवार राजनीतिमा निष्कृय रहनुको प्रसङ्ग उल्लेख गर्दै आफ्नो परिवारलाई पनि अप्ठ्यारो आइलागेको बताउनुभएको छ । ‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्’ उषाकिरणले लेख्नुभएको छ । उहाँले च्यासलको केन्द्रीय कमिटी बैठकको निर्णयलाई प्रकरणको संज्ञा समेत दिनुभएको छ । ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद’, उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : 20:09









