१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्थगित होइन, परित्याग होः अर्थमन्त्री पौडेल

७ साउन, लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उहाँले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताउनुभयो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले आज बुटवलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताउनुभयो । “बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन”, उहाँले भन्नुभयो, “शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”

सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ ।”

नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरे पनि विभाजन चाहनेहरुको सपना तुहिएको बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उहाँको भनाइ थियो । सदस्यता नवीकरण गर्ने व्यवस्था पार्टीमा नरहेको र नयाँ प्रक्रियाबाट जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको सदस्यता स्थगित होइन, परित्याग हो, जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ ।”

केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने जनाउँदै छिटो सुझाव दिन उहाँले आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : July 23, 2025 at 5:15 pm